१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रदेश खेलकुद प्रतियोगिताको पुरस्कार तीन वर्षपछि वितरण


0
Shares

कैलाली । धनगढीमा तीन वर्षअघि सम्पन्न मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिताका विजेताले पुरस्कार पाएका छन् ।

२०७५ चैतमा सम्पन्न भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका खेलाडीले बुधबार पुरस्कार पाएका हुन् । सुदूरपश्चिम खेलकुद परिषद्ले धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा खेलाडीहरूलाई पुरस्कार प्रदान गरेको हो ।

तीन वर्षसम्म सुदूरपश्चिम खेलकुद विकास समिति र प्रदेशको सामाजिक विकास मन्त्रालयको संयुक्त खातामा रहेको रकम अहिले आएर खेलाडीलाई वितरण गरिएको सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले जानकारी दिनुभयो ।

व्यक्तिगत तर्फ पहिलो हुनेलाई ३५ हजार दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुनेलाई १५ हजार नगद दिइएको छ । प्रतियोगितामा आयोजक सुदूरपश्चिम प्रदेश ३ स्वर्ण, १ रजत र ३ कास्य सहित च्याम्पियन बनेको थियो ।