
डोलराज रानाभाट
चितवन । ६६औं प्रहरी दिवस मनाइरहँदा जनअपेक्षा पूरा हुनेगरी प्रहरीले काम गर्न नसकेको गुनासो बढेको छ । विकास र सुरक्षा सँगसँगै हुनुपर्ने भए पनि त्यसको अभाव खड्किरहेको आभास नागरिकले गरेका छन् ।
विश्वका विभिन्न ठाउँका प्रहरीले गर्ने अनुसन्धान र प्रयोग गर्ने विकसित प्रविधिबारे नेपालमा कमै मात्र सिकाइ र प्रयोग भएको भन्दै तालिम, सीप र उनीहरूको सेवा सुविधा बढाएर क्षमता वृद्धि गर्न आवाज उठेको छ ।
७८औं जिल्लाको रुपमा चिनिएको चितवनमा पनि प्रहरीले दिवसको अवसरमा कार्यक्रम गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले अपराधदेखि लागूऔषध, अफिम खेती आदीलाई नियन्त्रण गर्न निर्देशन दिनुभएको छ । जनप्रतिनिधिबाटै प्रहरीमा सेटिङ हुने र न्याय पाउने बाटो नै हराउने गुनासो आएको भन्दै संगठनलाई धमिलो हुन नदिन तामाङले आग्रह गर्नुभयो ।
व्यक्तिमा नभई नेपाल प्रहरीको बर्दीमा नागरिकले सेवा र सहयोगको आशा गर्दछन् । त्यसैले बर्दीधारी प्रहरीले दिने सेवा छिटो छरितो निष्पक्ष हुनुपर्ने चितवन जिल्ला अदालतका मुख्य न्यायधीश हेमन्त रावलको भनाइ छ । तर, प्रहरीको क्षमता वृद्धि नगरेसम्म बर्दीले मात्रै केही नहुने उहाँको बुझाइ छ ।
साथै, प्रहरीको अनुसन्धानका प्रक्रियालाई समेत परिमार्जन गर्न सुझाव दिँदै उहाँले पहिला सुन अनि थुन भन्ने नीति लिन आवश्यक रहेकोमा जोड दिनुहुन्छ । प्रहरीले पहिला सबै कुरा बुझेपछि मात्र हिरासतमा राख्नुपर्ने उहाँको भनाइ छ । निर्दोषलाई हिरासतमा राख्नबाट प्रहरी बच्नुपर्ने उहाँको सुझाव छ ।
नेपाल प्रहरी प्राकृतिक विपत्तिदेखि घटना–दुर्घटनामा पुग्ने सरकारी प्रतिनिधिको पहिलो निकाय हो । तर, रातदिन जनताको सेवामा लाग्ने प्रहरीको सेवा सुविधा पर्याप्त नभएको भन्दै सरकारले विशेष ध्यान दिनुपर्नेमा वक्ताहरूले जोड दिए । चितवन प्रहरीका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले विभिन्न समस्याका वावजुद पनि चितवनको शान्ति सुव्यवस्था, अपराध नियन्त्रणमा सक्रियपूर्वक लागिरहेको बताउनुहुन्छ ।
सरकार र नागरिकबाट प्रहरीलाई थप सहयोग गर्नु जरुरी त छँदै छ, प्रहरीको क्षमता विकास सँग–सँगै जनताले पाउने सेवालाई पनि सहज, सरल र निष्पक्षतासमेत ध्यान दिनु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्