१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निर्वाचनसम्म संयुक्त सरकार बनाएर अघि बढ्न मुख्यमन्त्री आचार्यको आह्वान


0
Shares

विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले निर्वाचनसम्म संयुक्त सरकार बनाएर अघि बढ्न आह्वान गर्नुभएको छ ।

प्रदेशसभा भवनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले संयुक्त सरकार बनाउन राजनीतिक दलहरूलाई आह्वान गर्नुभएको हो ।

राष्ट्र निर्माण सबैको साझा लक्ष्य भएकाले सरकार बनाएर चुनावसम्म चलाउन आह्वान गर्दै मुख्यमन्त्री आचार्यले त्यसपछि जनताले जे म्याण्डेड दिन्छन् त्यसरी नै अघि बढ्ने बताउनुभयो ।

लडाइँ–झगडा, तछाड–मछाड, शब्दका वाण आवश्यक नरहेको भन्दै उहाँले दशैंपछि राम्ररी सल्लाह गरेर संसदमा निष्कर्ष निकाल्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री आचार्यले सरकारले विश्वासको मत लिने भन्दै संविधान नमिच्ने बताउनुभयो ।

२०७४ सालको निर्वाचनको परिणाम मंसिरमा आए पनि सरकार परिवर्तन गर्न फागुनसम्म कुर्नुपरेको उल्लेख गर्दै उहाँले प्रदेश सरकारले विश्वासको मत लिने बताउनुभयो ।

कार्यक्रममा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सहमतिको सरकारका लागि मुख्यमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने बताउनुभयो । कार्कीले विधि र पद्धतिअनुसार सरकार गठन हुनुपर्ने र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने जिकिर गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्र आङ्बो, नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईले समेत नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न मुख्यमन्त्री आचार्यलाई आग्रह गनुभयो ।