
गृष्मा राजभण्डारी
काठमाडौं । काठमाडौंका मुख्य ठाउँमा दशैंको भीडभाड व्यापक देखिन थालेको छ । बजार मात्र हैन, घर गएर परिवार भेट्न आतुर मानिसको बाक्लो उपस्थितिले नयाँबसपार्क मेला लागेको भान हुन्छ ।
कोभिडको संक्रमण नटरेको अवस्थामा सार्वजनिक स्थलमा स्वास्थ्य सतर्कतालाई भावनाले उछिनेको देखिन्छ । न स्वास्थ्य मापदण्ड छ, न संक्रमणको त्रास । छ त घर फर्कने एकमात्र ध्याउन ।
नयाँ बसपार्क वरपर जाँदा साँच्चै दशैं भित्रिएको भान हुन्छ । सबैलाई हतारो छ । व्यापारी व्यापार, गाडीवाला यात्रु र यात्रु चाहिँ घर पुग्ने चटारोमा छन् । नयाँ बसपार्क कुम्भमेला जस्तै लाग्छ । झिटीझाम्टा बोकेर परिवार भेटन जाने यात्रुलाई यात्राको व्यवस्थापन गर्न भ्याइ–नभ्याइ छ ।
टिकट काउन्टरमा पनि व्यस्तता उतिक्कै छ । वैदेशिक रोजगारीमा गएकाहरू पनि वर्ष दिनको चाडबाड परिवारसँग मनाउने आकांक्षा बोकेर फर्किएका छन् । कोभिडको प्रकोपपछि रोग, भोक, शोकबाट गुज्रिएको परिवारसँगको भेट उनीहरूका लागि विशेष घडी भएको छ ।
कालोबजारीबाट भने यसपटक मुक्त हुनुपरेको यात्रुको अनुभव छ । बसपार्कको व्यवस्थापनबारे यात्रुहरूको मिश्रित प्रतिक्रिया छ । दशैंका मुखमा गाडी भाडा बढेकोप्रति यात्रुको गुनासो स्वाभाविक नै हो । तर, बढेको भाडा लिनुको बाध्यता रहेकोमा व्यवसायीहरूको आ–आफ्नै तर्क छ ।
आफन्त भेटघाटले उन्माद थपिरहँदा कोभिडको खतरा अझै कायमै छ । घर जाने तयारीमा रहेका मानिसहरूमा खुसीसँगै कोभिडको चिन्ता थपेको छ । सरकारले सामाजिक दूरी कायम गरी कोरोना सचेतना अपनाइ चाडबाड मनाउन दिने बताइरहँदा बसपार्कमा देखिएको भीडले जिस्क्याइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्