
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सबै हिसाबले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाउनुभएको छ ।
अध्यक्ष नेपालले ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको र व्यक्तिवादी चरित्र हावी भएको आरोप लगाउनुभयो । उहाँले एमालेमै रहनका लागि अन्तिमसम्म प्रयास गर्दा र पछिल्लो समय राष्ट्रिय विधान महाधिवेशनमा भएको गतिविधि र सिद्धान्तका कारण भानुभक्त जोशीले नयाँ क्रान्तिकारी बाटाे रोजेको बताउनुभयो ।
अध्यक्ष नेपालले नेता जोशीलाई नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी सदस्यमा लैजाने घोषणासमेत गर्नुभयो । उहाँले एमाले सबै हिसाबले पतनको दिशामा गएको बताउँदै एमाले सामूहिक नभएर एक व्यक्तिको पार्टी जस्तो भएको बताउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले)बाट नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्नुभएका नेता भानुभक्त जोशीले १० बुँदे सहमति तथा अन्तर पार्टी निर्देशनकाे निर्णयसमेत कार्यान्वयन नभएकाले पार्टी परिवर्तन गरेको बताउनुभयो । उहाँले पछिल्लो समय पार्टीमा फेरि आग्रह पूर्वाग्रह यथावत रहेको पाइएको भन्दै नेकपा एकीकृत प्रवेश गरेको बताउनुभयो ।
नेकपा (एमाले)बाट नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नुभएका नेता जोशीलाई पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्वागत गर्नुभएको थियाे ।
प्रतिक्रिया दिनुहोस्