
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । नेकपा एमालेले निरन्तर प्रतिनिधिसभामा अवरोध गर्दै आएको छ । आज पनि एमालेले अवरोध कायमै राख्ने बताएपनि बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा विधेयक-२०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । अघिल्लो पटक बसेको बैठक एमालेकै विरोधका कारण सात मिनेटमात्रै बसेर स्थगित भएको थियो ।
पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ जनालाई सांसद पदबाट नहटाएर सभामुख अग्नि सापकोटाले एमाले विभाजनमा सहयोगी भूमिका खेलेको आरोप लगाउँदै एमालेले संसदमा विरोध जनाउँदै आएको छ ।
संसदको अवरोध खुलाउने विषयमा सभामुख सापकोटा र त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकसमेत एमालेले बहिस्कार गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्