३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


ईपीएल फाइनल शनिबार : ट्रफि जित्ने कप्तानद्वय भण्डारी र कामीको दावी


0
Shares

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनल खेल शनिबार हुँदैछ ।

टियु क्रिकेट मैदानमा हुने फाइनलमा उपाधिका लागि चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् । खेल सवा १२ बजे सुरु हुनेछ । सोमपाल कामीको कप्तानीमा रहेको चितवन र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो पटक ईपीएलको फाइनलमा पुगेका हुन् ।

दुवै टिम फाइनलमा जित निकाल्दै पहिलो उपाधि उचाल्न चाहन्छन् । त्यसैले फाइनल खेल रोमान्चक हुने अनुमान गरिएको छ । चितवनका कप्तान सोमपाल फाइनलमा आफ्नो टिमले प्रमाणित गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् । पोखराका कप्तान विनोदले फाइनलमा राम्रो खेल्दै उपाधि जित्ने दावी गरे ।

लिगको कुरा फरक भएको तर्क गर्दै भण्डारीले फाइनलमा जुन टिमले राम्रो खेल्ने त्यहिँ टिमले उपाधि जित्ने बताए । फाइनलमा सबै टिमलाई दबाब हुने उनले बताए ।

यसै संस्करणको अघिल्ला दुई भेटमा चितवनले पोखरालाई हराएको थियो । लिग चरण र क्वालिफायर भेटमा चितवनले समान ९ विकेटको जित निकालेको थियो । चितवन उक्त जितलाई कायम राख्न चाहन्छ । तर, पोखरा भने फाइनलमा बदला लिने सोचका साथ मैदान उत्रने छ ।

ईपीएलको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन् ।