
डम्मर बुढा मगर
बागलुङ । धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको एउटा प्रसिद्ध शक्तिपिठ भएकाले बडा दसैँ र चैतेदसैँमा हजारौं भक्तजनको भीड लाग्ने गर्छ । घटस्थापनाको दिनदेखि कालिका मन्दिरमा दैनिक हजारौं भक्तजन आउने भएकाले बागलुङ भगवती गुठी व्यवस्थापन समितिले विशेष तयारी समेत गरेको छ ।
आएका भक्तजनको लागि पूजामा सहजीकरण, बली व्यवस्थापन, पार्किङ, सरसफाई र खानपिनलाई सुरक्षित बनाउन विभिन्न तयारी गरिएको समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो । मन्दिरमा दसैँंमा ६ लाख बढी भक्तजन आउने गरेका छन् । तर कोरोना संक्रमणको कारण पर्यटकको केही कमी भएको छ ।
पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाकी राजकुमारी विश्रवादेवी सँग विवाह गर्दा राजकुमारीले देवी कालीकालाई पनि साथैमा ल्याएकोले कालीगण्डकी नदी किनारमा रहेको जंगलमा विधिपूर्वक स्थापना गरिएको पाइन्छ । त्यसपछि कालिकाको नियमित पूजा भैरहेको किम्बदन्ती छ ।
अहिले बागलुङ, पर्वत, म्याग्दी, कास्की, चितवन, लगायत देशभरका विभिन्न स्थानबाट कालिका प्रति धेरै विश्वास मान्नेहरु दर्शन गर्न आउने गर्छन् । त्यस्तै भारतीय पर्यटक र तेस्रो मुलुकका पर्यटक पनि आउने गरेको पाइन्छ । कालिका मन्दिरमा दर्शन गर्न आउनेले सन्तान प्राप्त हुने, शक्ति प्राप्त हुने र मनोकांक्षा पुरा हुने लगायतका विश्वास गर्छन् ।
मन्दिरमा भक्तजनहरुले पूजा गर्ने, पञ्चवली दिने र नाचगान गर्ने चलन छ । कालिका मन्दिरको चारै दिशामा ढोका छन् । पूर्वको ढोका कहिले पनि खोलिदैन । यो ढोका खोल्दा नाग उत्पन्न हुने भएकाले बन्द गरिने गरिएको बुढापाका बताउँछन् ।
अहिले पनि मन्दिरको विशेष संरक्षण तथा रेखदेख स्थानीय खड्का परिवारबाटै भइरहेको छ । पर्वत राज्य विसं १८४३ मा नेपालमा गाभिएपछि १८४५ मा तत्कालीन राजाले लालमोहर लगाएर स्थानीय रामचन्द्र खड्काहरुलाइ पूजारी बनाएर खड्काहरुनै गुठीयार बस्ने अधिकार दिएको भन्ने दस्तावेजमा उल्लेख गरिएको छ । मन्दिरमा आउने भक्तजनका लागि व्यवस्थापन समितिले सहज रुपमा पूजाआजा गर्न वातावरण मिलाउन जरुरी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्