२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


कांग्रेसका क्षमतावान नेतालाई मन्त्री बनाउन नसक्दा दुःख लागेको छ : प्रधानमन्त्री देउवा


0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको सरकार भएकाले कांग्रेसका क्षमतावान र योग्य नेतालाई मन्त्री बनाउन नसकेको बताउनु भएको छ ।

बालुवाटारमा आज आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले पार्टीका योग्य व्यक्तिलाई मन्त्री बनाउन नसक्दा दुःखी भएको बताउनुभयो । उहाँले आगामी दिनमा अरुलाई उचित जिम्मेवारी दिने उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले हिजो १६ मन्त्री र २ राज्यमन्त्री थपेर सरकारलाई पूर्णता दिनु भएको थियो ।

भागवण्डामा कुरा नमिलेपछि कांग्रेससहित सत्तारुढ दलका अन्य घटकभित्र पनि असन्तुष्टि बढेको छ । मन्त्रिपरिषद विस्तारका क्रममा नेपालगञ्जका कांग्रेस नेता एवं प्रधानन्यायाधीशका आफन्त गजेन्द्र हमाललाई उद्योग मन्त्री बनाइएपछि प्रधानमन्त्री देउवाको आलोचना भइरहेको छ ।

यद्यपि प्रधानमन्त्री देउवाले सांसद पदमा नरहेका गजेन्द्र हमाललाई मन्त्री बनाउनु पर्ने कारणबारे भने केही बताउनुु भएन । उहाँले बिपी कोइराला शताब्दी सन्देश नामक पुस्तक प्रकाशन गरेकोमा स्कुल अफ डेमोक्रेसीका केन्द्रीय अध्यक्ष नैनसिंह महरलाई धन्यवाद दिनुभयो । कार्यक्रममा काँग्रेस नेता मीन विश्वकर्मा, तारादेवी भट्ट र नैनसिंह महरले किताब र बिपी कोइरालाबारे प्रकाश पार्नु भएको थियो ।