
बैतडी । जिल्लाको पाटनस्थित प्रसिद्ध उदयदेव मन्दिरमा राखिएको पैसासहितको दानपेटिका चोरी भएको छ ।
गएको एक वर्षदेखि नखोलिएको दानपेटिका घटस्थापनाको अघिल्लो रात चोरी भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।
दानपेटिकामा कति रकम थियो भन्ने पनि पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । चोरेको दानपेटिका मन्दिरनजिकै फोरिएको अवस्थामा भेटिएको छ ।
सोही राति मन्दिरमा नवरात्रको पूजा गर्न महेन्द्रनगरबाट आएका दर्शनार्थी गणेशबहादुर चन्दको रकमसमेत चोरी भएको छ । उहाँको १७ हजार रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ ।
चोरीमा संलग्न भएको आशंकामा तीन जनामाथि निगरानी बढाइएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।
यसअघि, गत जेठमा बैतडीको पाटन नगरपालिका–६ स्थित रामेश्वर धाममा राखिएको दानपेटिकाको पैसा पनि चोरी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्