१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागलुङमा केवल र इन्टरनेटको तार काटियो, २८ लाख तिर्न बाँकी


0
Shares

डम्मर बुढामगर
बागलुङ । नेपाल विद्युत् प्राधिकरणलाई पोल प्रयोग गरेबापत वर्षौंदेखि भाडा नतिरेका कारण पाँच इन्टरनेट तथा टिभी केवल कम्पनीको तार काटिएको छ ।

केन्द्रीय कार्यालयको निर्देशनअनुसार बागलुङमा पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायक तथा केवुल टिभीको तार काटिएको नेपाल विद्युत प्राधिकरण बागलुङले जनाएको छ । प्राधिकरणले सुरुवाती चरणमा वर्ल्डलिंक कम्युनिकेसन, बागलुङ केवल, सूर्य सञ्चार, पोखरा इन्टरनेट र टेकमाइन्ड नेटवर्कको तार काटेको छ ।

प्राधिकरणले पटक–पटक पोल भाडा तिर्न र सम्झौता गर्न पत्राचार गरे पनि केवल तथा इन्टरनेट सेवा प्रदायकहरूले अटेरी गरेका कारण तार काट्न बाध्य भएको नेपाल विद्युत प्राधिकरण, बागलुङ वितरण केन्द्रका प्रमुख इन्जिनियर दिलिप मरासिनीले जानकारी दिनुभयो ।

जिल्लामा २१ इन्टरनेट तथा टिभी केवल प्रदायकले नेपाल विद्युत प्राधिकरणको पोल प्रयोग गर्दै आएका छन् । जसमध्ये अहिलेसम्म नौ वटा सेवा प्रदायकले मात्रै प्राधिकरणसँग सम्झौता गरेका छन् । सम्झौता भएकाले पनि २०७५ देखि पोल भाडा तिरेका छैनन् ।

सेवा प्रदायकले हालसम्म २८ लाख ४५ हजार ९ सय ६९ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । सबैभन्दा बढी बागलुङ केवलले २ लाख २१ हजार ४ सय ९ रुपैयाँ र सबैभन्दा कम पोखरा इन्टरनेटले ८ हजार ४ सय ७५ रुपैयाँ तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

वर्ल्डलिंक कम्युनिकेशन बागलुङका प्रमुख विनोद केसीले सबै सम्झौता केन्द्रीय कार्यालयबाट भएको हुँदा प्राधिकरणले दिएको पत्रलाई केन्द्रमा पठाएको बताउनुभयो । बक्यौता रकम तिर्ने भन्दा पनि प्राधिकरणले केही ठाउँमा इन्टरनेटका तार काटेको केसीको भनाइ छ ।

इन्टरनेट तथा केवल टिभी सेवा प्रदायकलाई पोल भाडा तिराउन र लथालिङ्ग रूपमा टाँगिएका तार व्यवस्थापन गर्न सम्बन्धित निकायको ध्यान जान जरुरी छ । विद्युत् प्राधिकरण र सेवा प्रदायकहरूको असझदारीको प्रभाव उपभोक्तालाई पर्नु भने उचित होइन ।