१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पोहोरभन्दा दोब्बरले बढ्यो अलैंचीको मूल्य, किसान मख्ख


0
Shares

प्रकाश नेपाल
इलाम । कोरोना महामारीका कारण गत वर्ष नेपाली अलैंची भारत हुँदै तेस्रो मुलुक निर्यात हुन सकेको थिएन । तर, यस पटक भने दशैं सुरु भएसँगै अलैंचीको मूल्य निरन्तर उकालो लागेको छ ।

गत वर्ष अलैंचीको खपत हुने देशहरू कोरोना महामारीले प्रभावित हुँदा त्यसको असर नेपाली अलैंचीमा परेको थियो । यसवर्ष पनि गत वर्ष जस्तै मूल्य नपाइने डरले धेरै कृषकले यसअघि नै अलैंची बिक्री गरिसके । तर, अहिले अलैंचीको मूल्य भने निरन्तर उकालो लागिरहेको छ ।

गत वर्ष घटेर अलैंचीको मूल्य २० हजार रुपैयाँ प्रतिमन पुगे पनि यस वर्ष ४५ हजार रुपैयाँमा किनबेच भइरहेको छ । अलैंचीको मूल्य राम्रो पाएपछि कृषकसमेत खुसी भएका छन् । अहिले बारीबाट निकाल्नेबित्तिकै ४० हजार रुपैयाँ पाइरहेको किसान बताउँछन् ।

नेपालमा उत्पादित अलैंचीको मूख्य बजार भारत हो । तर, नेपाल र भारत दुवै देशमा अलैंचीको उत्पादन बढेपछि यसको मूल्यमा गिरावट आउने गरेको व्यापारीहरू बताउँछन् । गत वर्ष इलाममा अलंैचीमा ढुसीजन्य रोग, डढुवा र प्रतिकुल मौसमका कारण अलैंची उत्पादन कम भए पनि अहिले क्रमिक सुधार भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

इलाममा गएको वर्ष १६ सय हेक्टर जग्गामा ५ लाख ७६ हजार मेट्रिक टन अलैंची उत्पादन भएको सरकारी तथ्याङ्क छ । जिल्लामा अहिले रामसाई, गोलसाई, डम्बरसाई, जिर्मले र भार्लाङ्गे जातका अलैैँची खेती हुँदै आएको छ ।