१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


इच्छाराजको मुद्दामा ९ सय वटा जाहेरी, पौने ४ अर्ब बिगो दावी


0
Shares

काठमाडौं । पूर्व सभासद एवं सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १२ जनाविरूद्ध करिब नौ सय वटा जाहेरी दर्ता भएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोमा हिजो साँझसम्म आठ सय ८३ जना निक्षेपकर्ताले जाहेरी दर्ता गरेको प्रहरी स्रोतले जनाएको छ । जाहेरीमा अहिलेसम्म कुल बिगो रकम ३ अर्ब ७४ करोड २८ लाख रूपैयाँ दाबी गरिएको छ ।

यो मुद्दामा अझै जाहेरी थपिन सक्ने ब्युरोले जनाएको छ । एउटै मुद्दामा यति धेरै जाहेरी दर्ता भएको सम्भवतः पहिलोपटक भएको प्रहरीको अनुमान छ ।

यो सहकारीमा दुई हजारभन्दा बढी निक्षेपकर्ता छन् । प्रहरीले तामाङसहित १२ जनाविरूद्ध ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । ठगी मुद्दामा प्रहरीसँग २५ दिन म्याद हुन्छ । तर २३ दिनभित्रै अनुसन्धान सक्नुपर्छ ।

तामाङले विभिन्न व्यक्तिहरूलाई जग्गा–घर दिने भन्दै ठगी गरेको आरोप पनि छ । उनले केहीलाई घरजग्गा पास गराइदिने नाममा ठगी गरेको पनि खुलेको छ । अहिले ती व्यक्तिको जाहेरी परिसकेको छैन । उनीहरू सम्पर्कमा भने आएको प्रहरीले बताउँछ ।

सिभिल होम्सअन्तर्गत घर निर्माणकै लागि मात्र इच्छाराजले नौ अर्ब रूपैयाँ निकालिसकेका छन् । ब्युरोले यो विषयमा अनुसन्धान गर्न भ्याएको छैन । इच्छाराज तामाङ सिभिल बैंकका अध्यक्ष तथा संविधानसभामा एमाले तर्फबाट सभासद पनि थिए । उनलाई ब्युरोले गत असोज १८ गते सुन्धारा क्षेत्रबाट पक्राउ गरेको थियो ।

उनीसँगै पक्राउ पर्नेमा सञ्चालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठ, सहजकर्ता प्रबन्धक भगवानबहादुर सिंह, जुनियर असिसटेन्ट म्यानेजर मायोनानी महर्जन, एलिना तुलाधर, जुनियर अधिकृत शंकरप्रसाद पाठक, असिसटेन्ट संगीत श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर सहायक प्रबन्ध बुद्धराज तामाङ, मौस्तुभ केतन ढुंगाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाह र पूर्वा लेखा समिति सदस्य हरिहर लामिछाने छन् ।