
काठमाडौं । सरकारले उपत्यकामा बाहिरी चक्रपथ खोल्ने अवधारण अघि सारेको २० वर्ष पूरा भएको छ ।
तत्कालिन अर्थमन्त्री डा. रामशरण महतका पालामै २०५८ सालको बजेटमा अघि सारिएको यो योजना २० वर्ष वित्दा सम्भाव्यता अध्ययन बाहेक अरु केही काम अगाडी बढ्न सकेको छैन ।
हालसम्म १२ करोड ४५ लाख ५० हजार बढी खर्च भइसकेपछि महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको हो । बाहिरी चक्रपथको निर्माण यकिन नहँुदै सरकारले २०७४ साल वैशाख २५ मा स्मार्ट सिटीको अवधारणा स्वीकृत गर्यो ।
बाहिरी चक्रपथकै सेरोफेरोमा रहने गरी काठमाडौंको उत्तर पूर्वी क्षेत्रमा १ लाख रोपनी, उत्तरमा १० हजार रोपनी, ललितपुर र भक्तपुरमा १०–१० हजार रोपनी गरी ४ वटा स्मार्ट सिटीको अवधारणा अघि सारिएको छ । तर, यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन समेत स्वीकृत हुन सकेको छैन ।
प्रतिवेदन नै स्वीकृत नभएको आयोजनाको लागि १५ करोढ ६५ लाख बढी रुपैयाँ खर्च भने भइसकेको छ । स्मार्ट सिटीको अवधारणा अघि बढाएपछि प्रस्तावित क्षेत्रको जग्गा बेचविखन गर्न नपाइने निर्णय भएको छ ।
आयोजना तत्काल कार्यान्वयनमा लैजान नसक्दा वर्षौंदेखि नागरिकको जग्गा रोक्का भएको छ । आयोजना तत्काल प्रभावकारी रूपमा अगाडी बढाउन पनि महालेखाले जोड दिएको छ ।
प्रतिक्रिया दिनुहोस्