२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


घर ल्याउन ठिक्क पारेको धान खेतमै डुब्यो, वर्षभरिको खाद्यान्न जोहो गर्ने चिन्तामा किसान (भिडियो)


0
Shares

बिराज रोस्यारा
कैलाली । गत आइतबारदेखि परेको वर्षाका कारण कैलाली र कञ्चनपुरमा काटेर भित्र्याउन ठिक्क पारेको धानबालीलाई क्षति पु¥याएको छ ।

पानी निरन्तर परिरहेकाले किसानहरू कम भिजेका धानलाई जोगाउन जुटेका छन् । भित्र्याउन ठिक्क पारेको धान पानीले भिजेपछि वर्षभरी खाद्यान्न कसरी जोहो गर्ने भन्दै किसान चिन्तित भएका छन् ।

कैलाली धानखेतीका लागि पकेट क्षेत्र रहेको भएपनि यसपटकको पानीले किसानले काटेर भित्र्याउन ठिक्क पारेको हजारौँ हेक्टर क्षेत्रफलको धानबालीलाई नोक्सानी पु¥याएको छ ।

गएको आइतबार साँझ आएको हावाहुरी र निरन्तर परिरहेको वर्षाका कारण धान बालीमा नोक्सान पुगेको कैलारी गाउँपालिका– ७ की सरिता चौधरीको गुनासो छ । उहाँले १० कट्टा जमिनमा लगाएको धान बाली पूर्णरुपमा क्षति भएको भन्दै सम्बन्धित निकायले राहतका लागि प्याकेज ल्याउनु पर्ने बताउनु भयो ।

भिजेको धान कालो हुने, बिउका लागि उपयुक्त नहुने हुँदा व्यापारीले सस्तो मूल्यमा खरिद गर्नसक्ने भएकाले सरकारले ध्यान दिनु पर्ने किसानको माग हो ।

भिजेको धान राख्न पनि नमिल्ने र मूल्य पनि नपाइने किसान बताउँछन् । धनगढी उपमहानगरपालिका– ३ का किसान मदन चौधरीले १५ कट्टा जमिनमा लगाएको धानमध्ये अलिकता पनि भित्र्याउन नपाएको बताउनु भयो ।

कैलालीमा करिब ७० हजार हेक्टर जमिनमा धानखेती हुँदै आएको भएपनि अहिलेसम्म किसानले आधा धान पनि भित्र्याउन नपाएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रराज शर्माले जानकारी दिनुभयो ।

बेमौसमी पानीका कारण भएको नोक्सानीले यो वर्ष ५ देखि १० प्रतिशत धान उत्पादनमा कमी आउने शर्माको भनाइ छ ।

अघिल्लो वर्ष २ लाख ८० हजार मेट्रिकटन धान उत्पादन भएको भएपनि यो वर्ष समय–समयमा पानी परेका कारण धान उत्पादन बढ्ने अनुमान गरिएको थियो । तर अब उक्त परीणाममा धान भित्र्याउन नसकिने शर्माले बताउनु भयो ।

पानी निरन्तर परिरहेका कारण किसानले कम भिजेका धानलाई भिज्नबाट बचाउन ध्यानदिनु पर्ने केन्द्रका प्रमुख शर्माले जानकारी दिनुभयो ।

किसानहरूले ७० देखि ८० प्रतिशतसम्म धान काटिसकेको बताउँदै बाँकी धान काट्ने तयारीमा रहेका किसानलाई केही समय धान नकाट्न केन्द्रले आग्रह गरेको छ ।