२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


माओवादी केन्द्रको सम्मेलनको तालिकामा हेरफेर, सदस्यता नवीकरणका लागि कार्तिक २५ गतेसम्म म्याद थप


0
Shares

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले सम्मेलनको तालिकामा हेरफेर गरेको छ ।

मंगलवार बिहान पार्टी कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले सम्मेलनको तालिकामा हेरफेर गरेको हो ।

बैठकले पार्टी सदस्यता नवीकरणका लागि कार्तिक २५ गतेसम्म म्याद थप गरेको छ भने, टोल सम्मेलन कार्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म गर्ने गरी म्याद थप गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो ।

उहाँले १४९ जनाको सल्लाहकार समिति बनाउने निर्णय भएको, ९९ जनाको ज्येष्ठ कम्युनिष्ट मञ्च बनाइएको, पेसलकुमार पोखरेलको अध्यक्षतामा २५ सदस्यीय लेखा आयोग बनाइएको, टंक राईको अध्यक्षतामा २५ जनाको अनुशासन आयोग बनाइएको र १७५ जनाको विशेष समिति बनाइएको पनि बताउनुभयो ।

प्रवक्ता महराले भन्नुभयो, ‘आजको बैठकले सम्मेलनको तालिकामा केही हेरफेर गरेको छ, राष्ट्रिय सम्मेलनको होइन, अन्य कामहरुको बारेमा, पार्टी सदस्यता नवीकरणको विषयमा कार्तिक २५ गतेसम्म म्याद थपिएको छ, टोल सम्मेलन कार्तिक २७ गतेसम्म,वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म म्याद थपिएको छ ।

माओवादी केन्द्रको अर्को स्थायी कमिटीको बैठक कार्तिक ४ गते बिहीवार बिहान ८ बजे बस्ने प्रवक्ता महराले बताउनुभयो ।