काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार आलोचना गर्न पनि लायक नरहेको टिप्पणी गर्नुभएको छ ।
सरकारको सय दिन पूरा भइरहँदा पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले आलोचना गर्न पनि लायक नरहेको प्रतिक्रिया जनाउनुभएको हो ।
बुधबार काठमाडौंमा आयोजित नेकपा (एमाले) बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकको उद्घाटन गर्दै उहाँले वर्तमान सरकार कसले चलाएको छ भनेर कसैले भन्न सक्ने स्थिति नरहेको दाबीसमेत गर्नुभयो ।
‘अहिलेको सरकार एक खालको नायवीद्वारा चलाइएको निमित्त नायकको सरकार हो’ उहाँले भन्नुभयो, ‘सरकार आलोचना गर्न पनि लायक रहेन, जसको हातमा नायवी छ, पर्दा पछाडि छ, अरु के भन्नु ?’
अध्यक्ष ओलीले देशलाई आगामी निर्वाचनबाट एमालेको विजय चाहिएको बताउनुभयो । अन्य पार्टीसँग देशलाई अघि बढाउने कुनै दृष्टिकोण नभएको उहाँको दावी थियो । अध्यक्ष ओलीले कांग्रेस अगामी निर्वाचनमा आफ्नो पार्टीको मुख्य प्रतिस्पर्धी भए पनि ऊसँग जनतामा जाने कुनै एजेन्डा नरहेको बताउनुभयो ।
अध्यक्ष ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई निर्वाचनबाट जनताले बदर गरिदिने चेतावनी समेत दिनुभयो । उहाँले अदालतले जनताबाट विश्वास गुमाइसकेको उल्लेख गर्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीले देशलाई बेहाल अवस्थाबाट जोगाउने गरी निर्वाचनमा तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्