१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यातायात व्यवसायमा खुलेआम ठगी : खुद्रा नभएकाे बहानामा बढी भाडा असुल्छन् व्यवसायी


12.402k
Shares

दीपक श्रेष्ठ
काठमाडौं । नयाँ भाडा दरअनुसार काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ ।

यो भाडादर पाँच किलोमिटरसम्मका लागि लागू हुनेछ । यस्तै‚ १० किलोमिटरसम्म २३ रुपैयाँ, १५ किलोमिटरसम्म २७, २० किलोमिटरसम्म ३० र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँ भाडा तोकिएको छ ।

तर, सवारी साधनका सहचालकहरूले १८ रुपैयाँ भाडा भए पनि २० रुपैयाँ लिने गरेका छन् । २३ रुपैयाँ तिरे पुग्नेमा यात्रुले २५ तिर्नुपर्छ । दुई रुपैयाँ यात्रुले फिर्ता नै पाउँदैनन् । सवारी साधनका सहचालक भने खुद्रा पैसा नभएकाले फिर्ता नगरेको भन्दै सहजै पन्छिनन् ।

यता, यातायात व्यवस्था विभाग भने तोकिएको भाडाभन्दा १ रुपैयाँ मात्र बढी लिइए पनि ठगी गरेको मानिने जनाउँछ । विभागका प्रवक्ता डा. लोकनाथ भुसाल, जुनसुकै बहानाले पैसा फिर्ता नदिनु डकैती भएको बताउनुहुन्छ । पैसा फिर्ता नदिएमा बस नम्बर टिपेर ट्राफिक प्रहरीलाई खबर गर्न उहाँ सुझाउनुहुन्छ ।

नियमनकारी निकाय महानगरीय ट्राफिक प्रहरी महाशाखाले कार्तिक २ गतेसम्म बढी भाडा लिने ४५ वटा सार्वजनिक सवारी साधनलाइ कारबाही गरिसकेको छ ।

यात्रुहरूले बढी भाडा लिएको गुनासो आए त्यस्ता सवारीचालकलाई गर्ने महाशाखाका सहप्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिलजंग शाह बताउनुहुन्छ । यसरी भाडा लिने सवारीलाई १ हजारदेखि ५ हजार रुपैयाँसम्मको कारबाही गर्ने उहाँको भनाइ छ ।

संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत असारमा मन्त्रीस्तरीय निर्णयबाट प्रदेशभित्र सञ्चालन हुने छोटो रुटको हकमा प्रदेश सरकारबाट नै भाडा समायोजन गर्न सक्ने व्यवस्था गरेको थियो ।

सोही निर्णयअनुसार बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले गत असोज २० गते काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो ।