१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सिभिल सहकारी ठगी प्रकरण : ११ सय ४७ जाहेरी दर्ता, ४ अर्ब ५५ करोडको विगो दाबी

तामाङलाई १८ दिन हिरासतमा राख्न अदालतको अनुमति

0
Shares

दीपक श्रेष्ठ
काठमाडौं । सिभिल सहकारीका आरोपीहरूमाथि अनुसन्धान भइरहँदा निक्षेपकर्ताको अरबौं रुपैयाँको सुरक्षाका विषयमा कसैले आश्वस्त बनाउन सकिरहेका छैनन् ।

सहकारीको नियमन गर्ने निकाय निक्षेप नडुब्ने आश्वासन दिए पनि विश्वास दिन असमर्थ छ । बरु निक्षेपकर्तालाई प्रहरीमा उजुरी दिन उसको सल्लाह छ ।

पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङमाथि अहिलेसम्म ११ सय ४७ वटा जाहेरी र ४ अर्ब ५५ करोड बढी बिगो दाबी गरी प्रहरीमा उजुरीको चाङ लाग्ने क्रम जारी छ । उनीमाथि अनुसन्धान गर्न थप १८ दिन हिरासत राख्ने अनुमति अदालतले दिएको छ ।

तामाङमाथि संगठित अपराधमा अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ । ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई दुई हप्ताअघि सीआईबीले पक्राउ गरेको थियो ।

पीडितहरू आफ्नो निक्षेप फिर्ता पाउन विभिन्न निकायमा धाइरहेका छन् । प्रहरीसँग गुहार मागिरहेका छन् । तर, आश्वासनबाहेक विश्वास गर्ने गतिलो आधार पाउन असफल छन् ।

निक्षेपको सुरक्षाका विषयमा जिज्ञासा राख्दा बागमती प्रदेशको कृषि भूमि तथा सहकारी मन्त्रालयअन्तर्गत सहकारी महाशाखाका रजिष्ट्रार विक्रमप्रसाद पाण्डेले पैसा फिर्ता आउने भए पनि कसरी आउँछ भन्ने निश्चित आधार दिन सक्नुभएन ।

तामाङले सहकारीको ७ अर्ब बढी रकम पटक–पटक नियम विपरीत विनाधितो ऋण निकाल्दै आफू अनुकूलको व्यवसायमा लगानी गरेका थिए । उक्त सहकारीमा रकम राख्ने निक्षेपकर्ताहरू मध्य अधिकांश जागिरबाट अवकाश पाइसकेकाहरू छन् ।

सहकारीमा सञ्चित रकम सन्चयकोष र उपदान बापत प्राप्त रकम हो । भविष्य सुरक्षित बनाउन सहकारीमा पैसा राखेकाहरूको भोक र निद्रा खोसिएको छ । निक्षेपकर्तालाई न्याय दिन सरोकारवालाहरूको सामूहिक प्रयास आवश्यक छ ।