२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


मुक्तिनाथ गएका चार जर्मन नागरिकसहित छ जनाको हेलिकोप्टरद्वारा उद्धार


0
Shares

काठमाडौं । हिमालपारीको जिल्ला मुस्ताङको प्रहरीले आज बिहान चार जना जर्मन नागरिकसहित छ जनाको हेलिकोटप्टरद्वारा उद्धार गरेको छ ।

गत असोज १७ गते डोल्पाको दुनैबाट पदमार्ग हुँदै मुस्ताङको मुक्तिनाथतर्फ हिडेका चार जर्मन नागरिक र दुई जना नेपाली गाइड गरी छ जनाको टोली डोल्पाको याकखर्कमा कार्तिक ४ गते पुगेका थिए ।

याकखर्क पुगेर पछिल्लो ३ दिनदेखि अलपत्र परेको जानकारी पाएपछि हेलिकोप्टरको सहायताले उद्धार गरिएको मुस्ताङ प्रहरीले जनाएको छ । पछिल्लो समय अविरल वर्षाले गर्दा हिमपात भएपछि पदमार्ग फेला पार्न नसक्दा उनीहरु हराएका थिए ।

आफूले बोकेको खानेकुरा पनि सकिएको र चिसोले गर्दा कठ्याङिग्रएर बिरामी पर्ने अवस्थामा पुगेका उनीहरुको प्रहरीले समयमै सकुसल उद्धार गरेको हो ।

पर्यटकहरु कार्तिक ४ गतेदेखि सम्पर्कमा नरहेको र छ गते बिहान त्यस क्षेत्रमा रहेको जानकारी पाउनासाथ तत्काल प्रहरी सहितको हेलिकोप्टर मार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । हिउँले औंलामा केही समस्या भए पनि अन्य अवस्था सामान्य रहेको जोमसोम अस्पतालले जनाएको छ ।