१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


२ अर्ब ५० करोडको बुद्धको मूर्ति नगर परिक्रमा गरी विमानस्थलमा स्थापना


0
Shares

भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्तिलाई नगर परिक्रमा गराइएको छ ।

सिद्धार्थ उद्योग बाणिज्य संघ भैरहवा, लुम्बिनी होटल संघ नेपालको संयोजन र लुम्बिनी सांस्कृतिक नगरपालिका तथा लुम्बिनी गार्डेन फाउन्डेसनको समन्वयमा मुर्तिलाई सिद्धार्थनगर नगरपालिका, मायादेवी गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका परिक्रमा गराई विमानस्थलमा राखिएको छ ।

बहुमूल्य धातु ह्वाइट जेड स्टोनबाट म्यान्मारमा २ अर्ब ५० करोडको लागतमा बनाइएको मूर्ति स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसनले नेपाललाई उपलब्ध गराएको हो । सो मूर्ति हिजो भैरहवा ल्याइएको थियो । १ हजार ८ सय किलो तौल रहेको मुर्तिको १ दशमलब ९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको छ ।

मूर्ति म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालवीन ग्रुपले तयार पारी स्पेनको लुम्बिनी गार्डेन फाउण्डेसनलाई दिएको थियो । यही कात्तिक १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्ध विमानस्थलमा मूर्तिको अनावरण गर्ने कार्यक्रम तय गरिएको छ ।

यसअघि कात्तिक १३ गते लुम्बिनीको मायादेवी मन्दिरमा दीप प्रज्ज्वलनसहित शान्तिको कामना गर्न स्पेनका सभामुखको नेतृत्वमा विशेष प्रतिनिधिमण्डल नेपाल आउने भएको छ ।