१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१५ सय वर्ष पुराना ग्रन्थ संग्रहित केशर पुस्तकालय प्रविधिमैत्री बनाइँदै

पर्यटक घट्दा पाठकको संख्यामा कमी आएको अधिकारीको भनाइ

0
Shares

मालती घोरासैनी
काठमाडौं । सरकारी स्वामित्वमा रहेको पन्ध्रसय वर्ष पुरानो ऐतिहासिक ग्रन्थहरूको जगेर्ना गर्दै आइरहेको केशर पुस्तकालय विद्युतीय प्रविधिमा रुपान्तरण हुँदैछ । समयको माग र पाठकहरूको रुचिलाई ध्यानमा राखेर पुस्तकालयलाई प्रविधिमैत्री बनाउन लागिएको हो ।

तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शम्शेरले छोरा केशर शम्शेरको नाममा सन् १९०७ मा स्थापना गरेको केशर पुस्तकालयमा अहिले विभिन्न भाषाका ५७ हजार पुस्तक छन् । ऐतिहासिक महत्व बोकेका यी पुस्तक ९५ प्रतिशत अङ्ग्रेजी माध्यमका छन् ।

पुस्तकालयमा भएका ५ प्रतिशत पुस्तक पुराना हस्तलिखित ग्रन्थ, विभिन्न दुर्लभ कृति हुन् । यीनै पुस्तक संरक्षण गर्न पुस्तकालयलाई हाल प्रविधिमैत्री बनाइँदैछ । स्थापनाकालको १ सय २० वर्ष भन्दा बढी समय पार गरिसकेको पुस्तकालयले १५ सय वर्ष पुरानो हस्तलिखित ग्रन्थ लगायतका विभिन्न प्राचीन दुर्लभ पुस्तकहरूको जगेर्ना गर्दै आइरहेको पुस्तकालयका प्रमुख दशरथ मिश्र बताउनुहुन्छ ।

अक्सफोर्ड विश्वविद्यालयमा समेत नभएको पुस्तकसमेत केशर पुस्तकालयमा पढ्न पाइने प्रमुख मिश्रको दाबी छ । चार भिन्न स्थानमा सजाएर व्यवस्थित बनाइएका वर्षौं पुरानो ईतिहास बोकेको पुस्तकालय छिर्ने बित्तिकै पाठकको मन तानिन्छ । कुनै समय ओइरो लाग्ने गरे पनि अहिले भने पाठकको संख्या पातलिँदै गएको प्रमुख मिश्रको अनुभव छ ।

२०७२ सम्म पाठकहरू आउने गरेको भए पनि भूकम्पपछि पुस्तकालयमा आउनेको संख्या घटेको उहाँ बताउनुहुन्छ । अंग्रेजी माध्यमका पुस्तक बढी भएकाले नेपाली भन्दा घुम्न आइएका विदेशी पर्यटकहरू पुस्तकालयमा आउने गरेको उहाँको भनाइ छ ।

कोरोनाका कारण शून्य अवस्थामा रहेका पाठकको संख्या पर्यटकको आगमनसँगै बढ्नेमा मिश्र आशावादी हुनुहुन्छ । सामान्य अवस्थामा यहाँ दैनिक ३ सय सम्म पाठक आउने गरेका थिए ।

आजको युग विज्ञान र प्रविधिको युग हो । प्रविधिमा भएको परिवर्तनसँगै पुस्तकलाई प्रविधिमैत्री बनाउँदै लाने प्रयास सकारात्मक छ । प्रविधिसँगै नयाँपुस्तालाई पुस्तकालयमा आकर्षित गर्न सके सुनमा सुगन्ध हुने थियो ।