१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सर्वोच्चका न्यायाधीशहरु छलफलमा, आजका लागि बोलाइएको फुट कोर्ट बैठक स्थगित


0
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका कामकारबाहीले न्यायालयको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठेको भन्दै सर्वोच्चका न्यायाधीशहरू छलफलमा जुटेका छन् ।

मन्त्रिपरिषदमा भाग खोज्नेलगायत विषयमा विवादित भएका प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने वा उहाँविरुद्ध महाअभियोग लगाउनुपर्नेबारे न्याय क्षेत्रमा आवाज उठ्न थालेपछि सर्वोच्च अदालतका न्यायाधीशहरु छलफलमा जुटेका हुन् ।

उनीहरुले आफूहरू मौन बस्न नहुने र एउटा निर्णय लिनुपर्ने भन्दै पछिल्लो समय निरन्तर छलफलमा छन् । आजको छलफलमा उनीहरूले प्रधानन्यायाधीशले बोलाएको फुल कोर्ट बहिस्कार गर्ने निर्णय गरेसँगै आजका लागि भनिएको फुट कोर्ट स्थगित भएको छ ।

न्यायाधीशहरू दीपक कार्की, मीरा खडका, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी, मनोजकुमार शर्मा र नहकुल सुवेदीले सामुहिक बैठक बसेर प्रधानन्यायाधीले बोलाएको फुल कोर्टमा नजाने निर्णय गरेका थिए ।

सर्वोच्चमा २१ न्यायाधीश रहने संवैधानिक व्यवस्था छ तर अहिले २० जना मात्र छन् । यसैबीच फूल कोट स्थगित भएसँगै बार एसोसिएसनको बैठक पनि सुरु भएको छ । प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चका न्यायाधीहरु नै विभाजित भएपछि त्यसबारे आधिकारीक धारणा तय गर्न बारको बैठक सुरु भएको हो ।