
काठमाडाैं । नायक पल शाहले गायिका समीक्षा अधिकारीसँगको सम्बन्धको विषयमा गलत समाचार सार्वजनिक हुँदा आफूलाई दुःखी बनाएको बताएका छन् ।
पलले सामाजिक सञ्जालमा स्टाटस लेख्दै केही दिनदेखि समीक्षा र आफ्नो सम्बन्धको विषयमा आएका समाचारले आफूलाई माया गर्ने दर्शक निक्कै दुःखी भएको महसुश आफूले गरेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही व्यक्ति समूह कही न कही कुनै न कुनै प्रकारले नजिक हुनुपर्छ यो हामी सबैलाई थाहा भएकै कुरा हो । मेरो पेशा र विधाका कारण मैले धेरै मान्छेहरुसँग सहकार्य गर्नुपर्ने हुन्छ र मसँग जोडिनु हुने मेरा अग्रज, अनुज र सहकर्मीहरूमाझ मैले सदैव आफूलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छ ।’
उनले थपे, ‘अरु कलाकारहसँग जस्तै र अरुले जस्तै सांगीतिक सहकार्य गायिका समीक्षा अधिकारीसँग पनि भएको कुरा यहाँहरुलाई बिदितै छ । हुँदै नभएका, गर्दै नगरिएका, विनाआधारका कुराहरुलाई गसिप बनाएर एउटा कलाकार र उसको व्यक्तिगत जीवनमाथि आँच आउने किसिमले लेखिएका झुटा समाचारहरुले मलाई अत्यन्तै दुःखी बनाएको छ ।’
पलले, कसैको व्यक्तिगत प्रतिष्ठा र चरित्र हत्या हुने गरी बदनाम गर्ने गरी समाचार नबनाइदिन मिडियासँग आग्रह पनि गरेका छन् । पलले, आफूले जानेर वा नजानेर कसैको चित्त दुखाएको भए माफी चाहन्छु समेत भनेका छन् ।
गायिका समीक्षा अधिकारीले पनि आइतबार सामाजिक सञ्जालमार्फत पल शाहसँग गलत हल्ला चलाइएको उल्लेख गरेकी थिइन् । उनले पल आफ्नो अभिभावक जस्तो भएको बताए ।
प्रतिक्रिया दिनुहोस्