१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


१४ न्यायाधीशद्वारा प्रधानन्यायाधीश राणालाई राजीनामा दिन सुझाव


0
Shares

मिरा बस्नेत
काठमाडौं । सर्वोच्च अदालतका १४ न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणालाई राजीनामा दिन सुझाव दिने भएका छन् ।

सोमबार फुल कोर्ट बहिस्कार गर्दै छुट्टै छलफलमा जुटेका १४ न्यायाधीशले न्यायिक क्षेत्रलाई स्वच्छ र विवादरहित राख्नका लागि प्रधान्यायाधीश राणालाई राजीनामा दिन सुझाव दिने निर्णय गरेको एक न्यायाधीशले जानकारी दिनुभयो ।

‘भोलि बिहान ११ बजे भेटेर राजीनामा दिन सुझाव दिन्छौं,’ उहाँले भन्नुभयो, ‘राजीनामा नदिएको खण्डमा विद्रोह गर्छौं ।’

१४ न्यायाधीशले प्रधानन्यायाधीश राणालाई मंगलबार बिहान ११ बजे भेट्नेछन् । राणाको राजीनामा नआए विद्रोह गर्ने भनिए पनि त्यसको बारेमा भेटपछि धारणा बनाइने उहाँको भनाइ छ ।

यसैबीच, नेपाल बार एसोसिएसनकाे बैठक अहिले जारी छ । न्यायाधीशहरूले राजीनामा दिन सुझाव दिने निर्णय गरेसँगै बारकाे बैठकले कस्ताे निर्णय गर्छ भनेर चासाेकाे साथ हेरिएकाे छ ।

यसअघि १४ न्यायाधीश दीपक कार्की, मीरा खडका, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी, मनोजकुमार शर्मा र नहकुल सुवेदीले सामुहिक बैठक बसेर प्रधानन्यायाधीले बोलाएको फुल कोर्टमा नजाने निर्णय गरेका थिए ।

प्रधानन्यायाधीको कामकारबाहीले न्यायालयको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठेको भन्दै सर्वोच्चका न्यायाधीशहरूले असन्तुष्टि जनाउँदै आएका छन् । मन्त्रिपरिषद्मा भाग खोज्नेलगायत विषयमा विवादित भएका प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने वा महाअभियोग लगाउनुपर्नेबारे न्याय क्षेत्रमा आवाज उठ्न थालेपछि न्यायाधीशहरू छलफलमा जुटेका थिए ।