१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अस्तित्व नै मेटिसकेको कीर्तिपुरको राजदरबार पुनः स्थापना गर्न स्थानीयको माग (भिडियो)


13
Shares

नरेन्द्र मानन्धर
काठमाडौं । कीर्तिपुरको ऐतिहासिक लायकु दरबार अहिले भौतिक अस्तित्वमा छैन ।

पाटनका श्रीनिवास मल्लले बनाएको सो दरबार तात्कालिन राजा पृथ्वीनारायण शाहले कीर्तिपुर राज्य जितिसकेपछि नष्ट गरेको इतिहासमा उल्लेख छ । विभिन्न कालखण्ड पार गर्दे आउँदा भग्नावशेषमा सीमित दवार पुन निमार्णको आवाज उठेको छ ।

३ शताब्दी पुरानो मौलिक शैलीको झ्यालले कीर्तिपुरको गौरवमय विरासत सम्झाउँछ । तर, त्यो साख अहिले भग्नावशेषमा अनुवाद भएको छ । ऐतिहासिक, पुरातात्विक, सामाजिक र सांस्कृतिक रूपमा महत्वपूर्ण दरबार कीर्तिपुरको पहिचान हो ।

पाटनका राजा सिद्धिनरसिंह मल्ल र छोरा श्रीनिवास मल्लबीच मनमुटाव भएपछि श्रीनिवास मल्लले तलेजु सहित दरबार बनाएको प्रमाणिक इतिहास छ । कालान्तरमा तात्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले कीर्तिपुर राज्य जितिसकेपछि दरवार नष्ट गरेको बताइन्छ ।

स्थानीय बासिन्दा राजदरबारलाई पुरानै संरचनामा फर्किएको हेर्न चाहान्छन् । यसका लागि हाल दरवार क्षेत्रमा रहेको करिव २२ घरलाई भने उचित क्षतिपूर्ति दिनुपर्ने अवस्था छ । मुआब्जा र क्षतिपूर्ति दिएर कीर्तिपुरको गौरवगाथा फर्काउनुपर्नेमा स्थानीय बुद्धिजीवी नारायण महर्जन बताउनुहुन्छ ।

अघिल्लोे मात्र हैन, नयाँपुस्तामा पनि दरबारको ऐतिहासिक महत्वको कदर हुनुपर्ने चेत छ । खोज अनुसन्धान गरी कीर्तिपुरको गजुर मानिने सम्पदा संरक्षण हुनुपर्ने कीर्तिपुरवासी प्रज्वल श्रेष्ठ बताउनुहुन्छ ।

पत्रकार नजरराम महर्जनले अबौं रुपैयाँ खर्च गरेर भ्यूटावर बनाउन सक्ने सरकारको लागि दरबारको पुर्ननिमाण ठूलो कुरा नभएको भन्दै एकिकृत रुपमा मुब्वाजासहित स्थानीयलाई व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

दरबारको इतिहास झल्काउने लायकु डबली, तलेजु, गुथी घर र सतलको संरचना अहिले पनि भेटिन्छ । बेलायती इतिहासकार हेनरी एम्ब्रोस ओल्डफिल्डले सन् १८५५ मा बनाएको चित्रमा कीर्तिपुरको भग्नावशेष सुरक्षित छ ।

इतिहास नै मेटिसकेको सम्पदाका विषयमा भविष्यका सन्ततिलाई जानकारी दिन पनि यसको पुर्ननिर्माण जरुरी छ ।