
दीपक श्रेष्ठ
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले केही दिनअघि आफू मातहतका तीनवटा सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई संगठनमा बोलीचालीमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिनुभयो । जुनसुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्द प्रयोग हुनुपर्ने उहाँको निर्देशन थियो ।
गृहमन्त्री खाँडको निर्देशन झट्ट सुन्दा कर्णप्रिय र राम्रो लागे पनि व्यवहारकारिक नहुने वरिष्ठ प्रहरी अधिकारीहरू बताउँछन् । संगठनका आफ्नै ‘चेन अफ् कमाण्ड’ भएकाले मातहतका निकायलाई आदरार्थी शब्द प्रयाेग गरेर निर्देशन दिँदा काम प्रभावकारी हुन नसक्ने प्रहरी अधिकारीहरू आशंका गर्छन् ।
संगठनमा आफू मातहतका निकाय तथा व्यक्तिलाई घृणा वा हेयको भावले अनादरार्थी शब्द प्रगोग नभएको महानगरीय प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक उत्तम सुवेदीको भनाइ छ । सुरक्षा निकायका अधिकारीहरूले आफू मातहतलाई आदरार्थी शब्द प्रयोग गर्नु राम्रो सुनिए पनि व्यवहारिक नहुने उहाँको तर्क छ ।
अन्य देशका सुरक्षा निकायको अभ्यास पनि सोही खालको भएकाले मन्त्री खाँडको निर्देशन खासै व्यवहारिक नभएको सुवेदीको जिकिर छ । ठोक्, गर्, हान्, जस्ता शब्दले कमाण्डरले भन्न खोजेका कुरा स्पष्ट रूपमा मातहतका प्रहरीमा पुग्ने र उनीहरू अन्योलता नहुने सुवेदीको तर्क छ ।
यसअघिका गृहमन्त्रीले पनि पटक–पटक यस्ता लिखित रुपमै यस्ता निर्देशन दिए पनि सुरक्षा निकायको संरचनामा मेल नखाने पूर्व प्रहरी नायव महानिरीक्षक हेमन्त मल्लको अनुभव छ । लामो समयसम्म एउटै ब्यारेकमा बसेपछि पारिवारिक सम्बन्ध विकास भए पनि आदेशात्मक शब्दहरू आदरार्थी नहुने उहाँको तर्क छ ।
सेना र प्रहरीको संरचनागत विकासका कारण आदरार्थी शब्दहरू प्रयोग गर्न नसकिने मल्ल बताउनुहुन्छ । सार्वजनिक रूपमा सुन्दा असहज लागे पनि यस्ता शब्दले सुरक्षा अधिकारीले मातहतका सुरक्षाकर्मीलाई हेपेको भन्ने अर्थमा भने बुझ्न नहुने उहाँको भनाइ छ । सुरक्षा निकायमा आदेश दिनुपर्ने भएकाले यसलाई पूर्ण रूपमा हटाउन नसकिने उहाँको भनाइ छ ।
गृहमन्त्री नियुक्त भएलगत्तै मन्त्री खाँडले दिएको निर्देशन सार्वजनिक खपतका लागि मात्र हो कि भन्ने कतिपय सुरक्षा अधिकारीहरूको शंका छ । सुरक्षा निकायका विभिन्न नीति नियम भएकाले आदरार्थी शब्द प्रयोग नर्दा थिचोमिचो भएको भन्न नमिलने उनीहरुको भनाइ छ ।
गृहमन्त्री खाँडको निर्देशनलाई आधार मान्ने हो भने कार्यक्षेत्रमा सम्मानजनक व्यहार भएमात्र नतिजा प्रभावकारी हुनुका साथै काममा उर्जा मिल्ने अनुमान लगाउन सकिन्छ । तल्लो तहका सुरक्षाकर्मीहरूले गृहमन्त्रीको निर्देशनले सहानुभूति पाए पनि यो कति व्यवहारिक हुन्छ ? त्यो भने हेर्न बाँकी नै छ ।
प्रतिक्रिया दिनुहोस्