
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आजका लागि सर्वोच्च अदालतमा ११ इजालास तोक्नुभएको छ । विवादमा फसेका राणाले राजीनामा दिनुपर्ने चौतर्फी माग उठिरहेका बेला राणाले आफूसहित अन्य न्यायाधीशका लागि इजलास तोक्नुभएको हो ।
सर्वोच्चका १५ जना न्यायाधीश प्रधानन्यायाधीश राणाले निकास दिनु पर्ने पक्षमा उभिएपछि दुई दिनदेखि सर्वोच्चमा सुनुवाइ प्रभावित भएको छ । हिजो न्यायाधीशहरूले प्रधानन्यायाधीश राणासँग छलफल गरेका थिए।
उक्त छलफलमा राणाले आफू संवैधानिक प्रक्रियाबाट आएको र त्यही प्रक्रियाबाट जाने बताउनुभएको थियो । कसैले सडकबाट माग्दैमा आफूले राजीनामा नदिने राणाले अडान राखेपछि न्यायाधीशहरूले थप छलफल गरेका थिए । उनीहरूले यसबारे आज पनि छलफल गर्दै छन् ।
न्यायाधीशहरू छलफलमा व्यस्त हुने भएकाले आज प्रधानन्यायाधीश राणाले तोकेका इजलास बस्ने सम्भावना निकै कम छ । यसअघि हिजो नै नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश राणालाई राजीनामा दिन आह्वान गरेको थियो । राणाले राजीनामा नदिए देशभर आन्दोलन गर्ने बारले चेतावनी दिएको छ ।
यसैबीच न्यायाधीशहरुले अघोषित रुपमा इजलास बहिस्कार गरेकाले प्रधानन्यायाधीश राणाको एकल इजलास मात्र बस्ने तयारी भएको सर्वोच्च स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्