१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


प्रदेश २ मा ‘मुख्यमन्त्री स्वच्छता अभियान’मै अस्वच्छता

कार्यकर्ता खुसी बनाउन जताततै पँजनी, जनप्रतिनिधिको अधिकार खोसिएको गुनासो

0
Shares

काठमाडौं । प्रदेश–२ सरकारले सञ्चालन गरेको मुख्यमन्त्री स्वच्छता अभियानमा स्थानीय तहसँग समन्वय नगरी योजनाको छनौट र कार्यान्वयन गर्दा बेथिति बढेको छ । स्थानीय तहको काम, कर्तव्य र अधिकारप्रति बेखवर बनी कार्यकर्ता खुसी पार्न योजना बाँड्ने गर्दा जनप्रतिनिधिबीच मनमुटाव चुलिदै गएको छ ।

प्रदेश–२ सरकारले स्वच्छता अभियानअन्तर्गत आर्थिक वर्ष २०७७/०७८ मा गर्ने भनिएको नगराइन नगरपालिका–५ गांगुलीस्थित माधव ठाकुरबाबा मन्दिरको जिर्णोद्धार गरिएको छ । तर, यसमा रकम अनुसार काम नभएको स्थानीयको गुनासो छ ।

माधव ठाकुरबाबा हजाम जातिका कुल देवता मानिन्छन् । मन्दिरका पुजारी उपेन्द्र ठाकुरका अनुसार वर्षौंदेखि रहेको यो मन्दिरमा २०७६ सालमा ठाकुर जातका व्यक्तिले नै कुल देवताको मन्दिर जिर्णोद्धार गरेका थिए । त्यसैमा पछि प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियानअन्र्तगत योजना दिएको थियो ।

‘मुख्यमन्त्री स्वच्छता अभियान’ कार्यक्रमले पनि गएको वर्ष त्यही मन्दिरको जिर्णोद्धार गर्ने, टायल र पेन्ट गर्ने, वरिपरी पर्खाल लगाउने, धर्मशाला भनेर दुई कोठे टहरो बनाउने र झण्डै ५ सय मिटर टाढा रहेको राधो मरद मन्दिरदेखि उक्त मन्दिरसम्म जाने बाटो निर्माण गर्ने योजना बनायो ।

माधव ठाकुरबाबा उपभोक्ता समितिका अध्यक्ष राधेश्याम झाले यो योजनाको कुल लागत ८२ लाख भएको बताउनुभयो । मुख्यमन्त्री स्वच्छता अभियानले उक्त मन्दिरको जिर्णोद्धार गरी रकम भुक्तानीसमेत गरिसकेको छ । तर, स्थानीयले त्यति रकम खर्च नभएको बताउँछन् । आफूहरुलाई जानकारी नदिई सो काम गराइएको उनीहरूको भनाइ छ ।

मन्दिरको सौन्दर्यको नाममा रंग, रोगनबाहेक केही पनि नगरिएको स्थानीय बताउँछन् । नगराइन नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विष्णुदेव झाले सो ठाउँमा प्रदेश सरकारबाट काम गराइएको बताउँदै योजना अनुसार काम सम्पन्न नभएकोमा गुनासो गर्नुहुन्छ ।

प्रदेश सरकारले गर्ने कुनै पनि काममा आफूहरूसँग समन्वय नगरेको झाको गुनासो छ । उहाँले माधव ठाकुरमा गुणस्तरहीन काम भएको दावी पनि गर्नुभयो । गत असार ३० गते माधव ठाकुरबाबा उपभोक्ता समितिमार्फत ५८ लाख ८१ हजार ६ सय २१ रुपैयाँ भुक्तानी दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।