
कञ्चनपुर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले (एमाले) अध्यक्ष केपी शर्मा ओलीले न्यायालयमाथि अनावश्यक हस्तक्षेप गरेका कारण अहिलेको विवाद आएको आरोप लगाउनुभएको छ ।
पार्टी कार्यालयको उद्घाट्नका लागि कञ्चनपुर आउनुभएका धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले विभिन्न बखेडा झिकेर न्यायालयलाई बदनाम गर्न खोजेको आरोप लगाउनुभयो । ओलीको हस्तक्षेपकारी भूमिकाका कारण न्यायालयमा अहिले समस्या देखिएको उहाँको भनाइ छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लगाउने विषयमा सत्ता गठबन्धनमा छलफल नभएको उहाँले बताउनुभयो । उहाँले आफू निरन्तर काठमाडौं बाहिर रहेको र नेताहरू पनि व्यस्त रहेका कारण पाँच दलको बैठकसमेत बस्न नसकेको उल्लेख गर्नुभयो ।
न्यायालयको अहिलेको विवाद प्रणाली भत्काउने नियतले उद्देश्यले भइरहेको उहाँको जिकिर छ ।
अध्यक्ष नेपालले एकीकृत समाजवादीले निर्वाचनमा अन्य पार्टीसँग गठबन्धन गर्ने पनि बताउनुभयो । वर्तमान गठबन्धन पनि चुनावसम्मै जाने उहाँको भनाइ छ । अन्य पार्टीसँग गर्ने चुनावी तालमेलको सम्बन्धमा छलफल, परामर्श सुरु गर्ने पनि उहाँले उल्लेख गर्नुभयो ।
अध्यक्ष नेपालले निर्वाचन आयोगबाट कलम चुनाव चिन्ह पाइसकेको उल्लेख गर्दै हिजोको सूर्य चिन्हमा ग्रहण लागेको टिप्पणी गर्नुभयो । उहाँले न्याय र सत्यको आवाज बुलन्द गर्नका लागि कलम चिन्ह नै जनताले रोज्नुपर्ने अवस्था बनिसकेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्