
हेटाैंडा । बागमती प्रदेशको मुख्यमन्त्रीका नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले पद तथा गाेपनियताकाे शपथग्रहण गर्नुभएकाे छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्दै शपथग्रहण गराउनुभएकाे हाे ।
उपधारा (२)मा प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
पाण्डे बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बन्नुभएको हो । यसअघि नेकपा (एमाले)का नेताहरू डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
गठबन्धनका तर्फबाट ५९ जना सांसदको हस्ताक्षरसहित गठबन्धनले मुख्यमन्त्रीमा पाण्डेलाई नियुक्त गर्न माग गरेको थियो । प्रदेशसभामा १ सय ९ जना सांसद रहेकोमा पाण्डे मुख्यमन्त्री बनेको दल एकीकृत समाजवादीको १३ जना मात्रै सांसद छन् ।
पाण्डेलाई मुख्यमन्त्री बनाउन माओवादी केन्द्रका २३, नेपाली कांग्रेसको २२ र जनता समाजवादी पार्टी (जसपा)को एक जना सदस्यले हस्ताक्षर गरेका थिए ।
यसैबीच, गठबन्धनबाट पहिलो चरणमा मुख्यमन्त्री पाण्डेसहित माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, कांग्रेस उपनेता कृष्णलाल भडेल र नेकपा (एस)का उपनेता कृष्ण खनाल मन्त्री बन्नुभएको छ ।
माओवादीले सामाजिक विकास मन्त्री, कांग्रेसले भौतिक पूर्वाधार र नेकपा (एस)ले आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाएका छन् ।
मुख्यमन्त्री पाण्डेले तिहारपछि मन्त्रिपरिषद्लाई पूर्णता दिनुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्