१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसले नचिनेको कांग्रेस

कार्यतालिका पटक–पटक प्रभावित, महाधिवेशन हुनेमै आशंका

0
Shares

अक्कल कुँवर
काठमाडौं । क्रियाशील सदस्यता विवाद र नेतृत्वका आकांक्षीहरूको अनिच्छाले पछिल्लो पटक तय गरेको नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ ।

केन्द्रीय महाधिवेशनको कार्यतालिका प्रभावित हुने निश्चित भएपछि केन्द्रीय निर्वाचन समितिले पुनः महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरेको छ । यसअघि निर्धारित मंसिर ९ देखि १३ गतेसम्म महाधिवेशन नहुने निश्चित भएपछि केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको मिति १८ दिन पर सारेर नयाँ कार्यतालिका प्रस्ताव गरेको हो ।

मंगलबार पार्टीका शीर्ष नेताहरूले केन्द्रीय निर्वाचन समितिलाई नयाँ कार्यतालिका बनाउन निर्देशन दिएको थियो । निर्देशन अनुसार समितिले कात्र्तिक २७ देखि मंसिर २९ गतेसम्म महाधिवेशन गर्ने गरी एकमहिने नयाँ कार्यतालिका प्रस्ताव गरेको हो । समितिले वडाअधिवेशन हुन बाँकी १३ जिल्लामा कार्तिक २७ गते वडा अधिवेशन गर्ने प्रस्ताव गरेको छ ।

कार्तिक ३० गते पालिका, मंसिर ३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन, मंसिर ६ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन तथा मंसिर १० र ११ गते जिल्ला अधिवेशन गर्ने प्रस्ताव गरिएको छ । मंसिर १७ देखि १८ सम्म प्रदेश अधिवेशन र मंसिर २७ देखि २९ सम्म केन्द्रीय अधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरिएको छ ।

यसअघिको कार्यतालिकामा कार्तिक १० देखि १२ गते प्रदेश अधिवेशन, मंसिर ९ देखि १३ केन्द्रीय महाधिवेशन गर्ने तय गरिएको थियो । तर, प्रस्तावित तालिकामा भने प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनबीच १० दिनको मात्र फरक छ । कार्यतालिका प्रभावित हुनुको मुख्य कारण मानिएको १३ जिल्लाको अधिवेशन समयमै हुने क्रियाशील सदस्यता छानविन समितिका सदस्य योगेन्द्र चौधरी बताउनुहुन्छ ।

यद्यपि चौधरीले सम्बन्धित जिल्लाका नेताहरू जिम्मेवार बन्नुपर्नेमा भने जोड दिनुभयो । ‘सानातिना समस्याहरूलाई मुख्य समस्या बनाएर अधिवेशन नगर्ने कुरा गर्नुभयो भने उहाँहरूको गल्ती हुनेछ,’ चौधरीले भन्नुभयो, ‘सबै नेताहरू पार्टीको हितको विषयलाई मनन गरेको खण्डमा समयमै महाधिवेशन हुन्छ ।’

१३ जिल्लामध्ये अझै रौतहट र रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गो लाग्न सकेको छैन । यी दुई जिल्लाको कारण प्रस्तावित कार्यतालिका प्रभावित हुने आशंका गरिएको छ । तर सदस्य चौधरी भने विवादित स्थानको अधिवेशनलाई स्थगित गरेर वा पुरानै क्रियाशील सदस्यतालाई मान्यता दिएर महाधिवेशन सम्पन्न गरेको नजिर रहेको बताउनुहुन्छ ।

कहिले कोरोना त कहिले क्रियाशील सदस्यता विवादलाई कारण देखाएर पटक–पटक महाधिवेशन सारेको कांग्रेसले प्रस्तावित कार्यतालिकामा महाधिवेशन गर्नुपर्ने बाध्यता छ । यद्यपि अझै पनि शंका गर्ने ठाउँ भने प्रशस्तै छन् । अब प्रस्ताव गरिएको मितिमा महाधिवेशन हुनेमा आफूले द्वविधा नदेखेको चौधरीको तर्क छ ।

पालिका अधिवेशन सम्पन्न भइसकेका ५१ जिल्लाको प्रदेशसभा क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन हुन सकेको छैन । १३ हिमाली जिल्लाको जिल्ला अधिवेशन भने भइसकेको छ । प्रस्तावित कार्यतालिका पारित गर्न केन्द्रीय समिति बैठक बस्ने तयारी भइरहेको छ ।