
नरेन्द्र मानन्धर
काठमाडौं । स्वयम्भू महाचैत्य बज्रयानको केन्द्रविन्दु हो । त्यसैले बौद्ध धर्माबलम्बीहरूका लागि यो आस्थाको केन्द्र हो । स्वयम्भू महाचैत्य र भुटानी राजसंस्थाको विशेष सम्बन्ध परापूर्व कालदेखिकै हो । त्यसैले गर्दा दुई मुलुकबीच समान खालका बौद्ध परम्पराहरूको अभ्यास हुने गरेको छ ।
भुटानी बौद्ध परम्पराअनुसार नेपालमा पनि बौद्ध कला संस्कृति चल्दै आएको छ । काठमाडौंमा भुटानी गुम्बा भनेर चिनिने साङ्गे छ्योलिङ विहारमा भुटानमा जस्तै बौद्ध परम्पराअनुसार हरेक वर्ष सङ्कासय दिवस मनाइने त्यहाँका गुरु खेम्पो कर्मा लामा बताउनुहुन्छ ।
यसदिन कपडामा बनेको हजार हातको अवलोकितेश्वरको थान्का प्रदर्शन हुने गरेको छ । चक्रसम्भर, महाकाल गणचक्र पूजासमेत गरिन्छ । भुटानी लामाहरूको उपस्थितिमा परम्परागत बौद्धतन्त्र नाचहरू नचाइन्छ । यस्ता परम्परालाई थप मजबुत गर्ने काम वर्तमान भुटानी राजाको कारण पनि भएको हो ।
भुटानी राजा जिग्मेकेशर नामगेल वाङ्चुकको जन्म काठमाडौंमा भएको र बाल्यकालसमेत यही बितेको बताइन्छ । तसर्थ उहाँको सम्बन्ध स्वयम्भू र हारती अजिमासँग विशेष छ । खेम्पो कर्मा लामाका अनुसार राजाले हारती अजिमालाई कुलदेवीको रूपमा मान्छन् । भुटान र नेपालको वंशज भएकाले धार्मिक समानताहरू रहेको लामाको भनाइ छ ।
भुटानमा रहेका धेरैजसो तथागत बुद्ध, गुरु पद्यसम्भव, आर्याअवलोकितेश्व, तारा, र योगीनीहरूको मूर्तिसमेत नेपाली कलाकारहरूले बनाएका हुन् । यसै कारण पनि नेपाल र भुटानबीच सम्बन्धको शेतु बौद्ध धर्म भएको छ । जसले जनस्तरसम्म मित्रवद्ध सम्बन्धलाई प्रगाढ बनाउन सहयोग पुर्याएको छ ।
प्रतिक्रिया दिनुहोस्