
डोलराज रानाभाट
चितवन । तिहार नजिकिँदै गर्दा चितवनका फूल किसानलाई अर्डर लिन भ्याई नभ्याई भएको छ । युवाहरुको फूल खेती प्रतिको लगावले भारतबाट हुने फूलको आयात रोक्न सहज पनि भएको छ ।भरतपुर १९ का अजय यादवको फोन व्यस्त हुन थालेको केही दिन भएको छ ।
एक सय बेर्ना लगाएर चार वर्ष अघि फूल खेती शुरु गरेका उहाँले अहिले ३२ कठ्ठामा ढकमक्क सयपत्री फुलाएका छन् । उहाँको फोन अहिले त्यही सयपत्री खरिद गर्नेहरुको अर्डर टिप्न व्यस्त हुने गरेको हो । विएससी एजी सकाउनु भएका यादव अर्का युवा इन्जिनियर सागर कार्की सँग मिलेर माली दाई एग्रो इनोभेसन प्राली स्थापना गरी भरतपुर ७ मा व्यवसायिक फूल खेती गर्दै आउनु भएको हो । विदेशबाट आयात घटाउनका लागि ३२ कठ्ठामा फूल खेती गरेको कार्कीले बताउनुभयो ।
अध्ययन गरेर फूल खेती गरे कम लागत र मेहनतमा धेरै प्रतिफल पाउन सकिन्छ । अहिलेसम्म आठ सय माला विक्री गरीसक्नु भएका उहाँले यो तिहारमा १० हजार माला विक्री गर्ने लक्ष्य रहेको बताउनुहुन्छ । एउटा मालामा ४० वटा गुच्छा हुने र ८० रुपैयाँमा विक्री गरिनेछ । एक केजी फूलले छ वटा माला हुने र केजीको छ सय रु३२ कठ्ठामा फूल खेती गरेर रुपैयाँसम्ममा विक्री हुने डिसीले बताउनुभयो । यो वर्षको तिहारमा १० हजार माला बिक्री गर्ने लक्ष्य डिसीको छ ।
यसरी ढकमक्क फुलेको फूल खेतीले धेरैलाई व्यवसायिक फूल खेतीतर्फ आकर्षण गरेको छ । भरतपुर ४ लंकुका कृष्ण कुवर पनि यसै व्यवसायमा हुनुहुन्छ । तीन कठ्ठामा उहाँको फूल खेती छ । फ्लोरिकल्चर एशोसियसन नेपाल चितवनका कोषाध्यक्ष, उज्जवल नर्सरीका सञ्चालक शुलभ श्रेष्ठलाई पनि अर्डर अनुसारको माला बनाउन भ्याई नभ्याई छ । मखमली भन्दा सयपत्रीको माग बढ्ने बताउने उहाँ होलसेल र खुद्रा दुवै सेवा उपलब्ध रहेको बताउनुहुन्छ । तिहारको चार दिन मात्रै नभएर सधैं भरि फूलको खेती गरेमा राम्रो हुने उहाँको भनाइ छ।
पर्याप्त ज्ञान र तालिमको अभाव, सयपत्रीको गुणस्तरीय वीउ कम मूल्यमा नपाइने भएपनि यसलाई ३ सय ६५ दिननै बजार बनाउन सकिनेमा श्रेष्ठको जोड छ । एकपछि अर्को गरी फूल खेतीमा लाग्ने नेपाली युवाहरुका कारण भारत लगायत विदेशबाट वर्षेनी आयात घटाउन मद्दत पुगेको छ । त्यसैले सरकारले पनि यस्ता व्यवसायिक रुपमै फूल खेती गर्ने किसानहरुलाई प्रोत्साहन गर्नु आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्