१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मिठाई पसल अनुगमन : म्याद गुज्रेका रंग र पेय पदार्थ विक्री

कारवाही स्वरुप महानगरद्वारा दुई लाख रुपैयाँ जरिवाना

0
Shares

काठमाडौं । काठमाडौं महानगरका विभिन्न मिठाई पसलहरुमा म्याद सकिएका रंग र उत्पादन मिति नभएका पेय पदार्थ विक्री गर्ने गरेको पाइएको छ ।

महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले ती मिठाई पसलहरुलाई कारवाही समेत गरेको छ। महानगरले सुन्धारास्थित गुलाब मिठाई पसल, लाजिम्पाटको तृष्णा मिठाई पसल र निखिलेश्वरम मठाई पसललाई कारवाही गरेको हो ।

महानगरका निरीक्षण अधिकृत हरिबहादुर भण्डारीका अनुसार गुलाबलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । गुलाबमा भेटिएका सामग्री खाद्य सुरक्षाका कोणबाट गम्भीर असर पुर्‍याउन सक्ने खालका हुन् ।

त्यस्तै महानगरले अनुुगमनका क्रममा लाजिम्पाटको तृष्णा मिठाई पसल र निखिलेश्वरम मिठाई पसलमा गरेको अनुगमनका क्रममा हाइड्रोका बटरटा भेट्टाएको हो । ती पसललाई १०/१० हजार रुपैयाँका दरले जरिवाना गरेको जनाएको छ ।

विभागका खाद्यविज्ञ ईश्वर सुवेदीले हाइड्रो कपडा सेतो बनाउन प्रयोग गरिने रसाइन वा अखाद्य वस्तु भएकाले यो मिठाईमा प्रयोग गर्नु स्वास्थ्यका लागि घातक भएको बताउनुभयो ।

यसको उपभोगले तत्काल कसैकसैलाई झाडाबान्ता हुने गरे पनि दीर्घकालमा आन्द्राको क्यान्सर हुनसक्ने उहाँको भनाइ छ । समितिले गरेको अनुगमनका क्रममा पसलको भान्छामा म्याद सकिएका रङ, अन्य कम्पनीले उत्पादन गरेका खाद्यवस्तुमा आफ्नो लेबल र आफूले उत्पादन गरेका खाद्यवस्तुमा भारतीय कम्पनीको लेबल राखेको, उत्पादन मिति उल्लेख नभएका पेय बिक्री गरेको पाइएपछि जरिवाना गरिएको हो ।