२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अदालतबारे गठबन्धन छिट्टै बोल्छ– अध्यक्ष दाहाल

‘अर्ली इलेक्सनको सम्भावना छैन, राष्ट्रियसभामा गठबन्धन मिलेर लड्छ’

0
Shares

जनकपुरधाम । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनले अदालतमा देखिएका समस्याबारे छिट्टै धारणा सार्वजनिक गर्ने बताउनुभएको छ ।

अध्यक्ष दाहालले गठबन्धन दलका नेताहरू कोही कता, कोही कता हुने स्थिति रहेकाले अदालतमा देखिएका समस्याबारे छलफल हुन केही दिन ढिलाई भएको पनि स्पष्ट पार्नुभयो ।

शनिबार जनकपुरमा विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले गठबन्धन दलको बैठक बस्ने बित्तिकै समस्या समाधान हुने गरी अदालतको बारेमा आफूहरूले दृष्टिकोण बाहिर ल्याउने समेत बताउनुभयो । अध्यक्ष दाहालले गठबन्धन दलभित्र कुनै विवाद नरहेको पनि दावी गर्नुभयो ।

फरक प्रसङ्गमा अध्यक्ष दाहालले अर्ली इलेक्सन हुने कुनै पनि सम्भावना नरहेको बताउनुभयो । संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको पछिल्लो फैसलाले पनि मुलुक अर्ली इलेक्सनमा जान मिल्ने अवस्थामा नरहेको उहाँको तर्क छ । उहाँले अर्ली इलेक्सनको बारेमा कोही पनि दुविधामा हुनुनपर्ने बताउनुभयो ।

अध्यक्ष दाहालले राष्ट्रियसभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले मिलेर चुनाव लड्ने सैद्धान्तिक सहमति भइसकेको जानकारी दिनुभयो । अध्यादेश ल्याएर भए पनि नागरिकता विधेयक अगाडि बढाउन आफूहरू तयार रहेको उहाँले बताउनुभयो ।