१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पासोमा परिणत हुँदै मेची राजमार्ग, पटक–पटक भासिन्छन् सडक


0
Shares

प्रकाश नेपाल
इलाम । इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमको उत्तरपूर्वी क्षेत्रका लागि मेरुदण्डको रूपमा रहेको मेची राजमार्ग पछिल्लो विपत्तिसँगै मासिने क्रममा रहेको छ । अविरल वर्षापछिको विपत्तिका कारण राजमार्गको मर्मतका लागि करोडौं रुपैयाँ खर्च हुने अनुमान छ ।

गएको असोज १६ गते इलामको धोबीधारा क्षेत्रमा मेची राजमार्गको आधा भाग अचानक भासियो । अहिले बाक्ला घर र साँघुरो सडक भएको इलाम बजार क्षेत्रबाट मेची राजमार्ग गुड्ने सवै सवारीसाधन चलिरहेका कारण जाम बढेको इलामका ट्राफिक प्रहरी प्रमुख योगेन्द्र दाहाल बताउनुहुन्छ ।

साँघुरो सडक र क्षमताभन्दा ठूला सवारी गुडेकाले बजार क्षेत्रको सडक पनि क्षयीकरण हुने क्रम निरन्तर छ । पहिरोको अस्थायी समाधान गरेर भए पनि राजगमार्गलाई सञ्चालनमा ल्याउनुपर्ने इलाम उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वर चिपालु बताउनुहुन्छ ।

वर्षाका कारण माइखोलानजिक राजदुवाली, रोङको किटेनी, इलाम नगरपालिकाको बरवोटे, मलाते, देउमाई नगरपालिकाको रक्से राँके खण्डमा धेरै अवरोध देखिएका छन् । तर, यत्तिको विपत्ती आउँदासमेत सडक एक तर्फी रूपमा खुले पनि सामान्य पहिरोसमेत नहटाइँदा दुर्घटनाको जोखिम बढेको छ ।

झापाको चारआलीबाट ७७ किलोमिटर इलाम बजारसम्मको क्षेत्रमा ६० वटाभन्दा धेरै गोलाइ छन् । पहाडबीच नागवेली खनिएको राजमार्ग बनोटकै कारणले पासोको रुपमा परिणत हुँदै गएको छ । अप्ठेरो भूगोलमा रहेको राजमार्गमा क्षमताभन्दा धेरै भारवहन गर्ने गाडीका कारण समस्या थपिँदो छ ।

तर, सामान्य अवरोध हटाउन पनि तीन तहका सरकारी संरचनाबीच समन्वय नहुँदा समस्या देखिएको हो । तत्काल समस्या समाधान नगरे राजमार्ग नै ठप्प नहोला भन्न सकिन्न ।