
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङस्थित मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । उहाँले मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गर्नुभएको हो ।
मुक्तिनाथको दर्शन भ्रमणका लागि राष्ट्रपति भण्डारी शनिबार काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरबाट मुक्तिनाथ पुग्नुभएको हो ।
भण्डारीलाई मुक्तिनाथ मन्दिरका पुजारी तथा पदाधिकारी, सांसद प्रेमप्रसाद तुलाचन, नेकपा एमालेकी नेतृ श्रीमाया थकाली, प्रदेशसभा सदस्य, मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, जनप्रतिनिधि तथा स्थानीयले स्वागत गरेका थिए । मुक्तिनाथ हिन्दु र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो ।
मुक्तिनाथको पूजालगत्तै राष्ट्रपति भण्डारीले बाग्लुङको ढोरपाटन सिकार आरक्ष क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ ।
निरीक्षणपछि राष्ट्रपतिसमक्ष आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेल र आरक्षको सुरक्षार्थ तैनाथ नेपाली सेनाको शत्रुमर्दन गुल्मका गुल्मपति सेनानी गोविन्द विष्टले आरक्षका गतिविधि र सुरक्षा स्थितिबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारीले आरक्षमा रहेका संग्रहालयका साथै ढोरपाटन उपत्यकाको दृश्यावलोकन गर्नुभएको प्रमुख संरक्षण अधिकृत कँडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्