
काठमाडौं । चाडपर्वको निहुँमा उपभोक्ता लुट्ने क्रमले तिहार बजारमा पनि निरन्तरता पाएको छ । बजारमा तिहार लक्षित सामग्रीको मूल्य आकासिएको गुनासो उपभोक्ताहरूको छ ।
तिहारमा मुख्यतः झिलीमिली बत्ती, भाइमसला फूलमालालगायत वस्तुको खपत बढी हुन्छ । तर, यही समयमा यिनै वस्तुको मूल्य अचाक्ली बढिरहेको छ । तिहारलाई अत्यावश्यक चिनी, आँटा–मैदा, काजु, किसमिस, नरिवल, छोकडा, ओखरलगायत वस्तुको मूल्य यो वर्ष अत्यधिक बढेको छ ।
यस्ता मसला विशेषगरी भारत, पाकिस्तान र चीनबाट आयात हुने गरेको छ । छोकडाको बजारमा अभाव रहेको व्यापारी बताउँछन् । भाइमसलाको मूल्य गत वर्षको अनुपातमा अत्यधिक बढेको उपभोक्ता बताउँछन् ।
व्यापारी भने आफ्नै लगानी बढी परेकाले मूल्य बढेको स्वीकार्छन् । ५÷१० रुपैयाँ फाइदा राख्दा बजारमा महँँगो पर्न जाने उनीहरूको तर्क छ । तिहारमा घर सजाउन प्रयोग हुने विद्युतीय झलरको मूल्य गत वर्षको तुलनामा ३० प्रतिशत बढेको व्यापारीको भनाइ छ ।
ढुवानी भाडा र लागत बढेसँगै आयातमा कमी हुँदा मूल्य बढेको उनीहरूको दाबी छ । व्यवसायीका अनुसार बत्ती चीन र भारतबाट आयात हुन्छ । बजारमा मूल्य बढिरहेको छ । तर, अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग मौन छ ।
प्रतिक्रिया दिनुहोस्