
काठमाडौं । एक वर्षअघिसम्म हरेक कार्यक्रममा नारिएर एक अर्काको प्रशंसामा नथाक्ने शीर्ष नेताहरू छुट्टिएसँगै खुइल्याउने एकसूत्रीय ध्याउन्नमा लागेका छन् ।
सैद्धान्तिक र नीतिगत भन्दा पनि व्यक्तिगत लाञ्छनामा उनीहरूका अभिव्यक्ति केन्द्रित हुने गरेका छन् । एउटाले लगाएको आक्षेप नसेलाउँदै तत्काल त्यसको खण्डन, मण्डन गर्नु दैनिकीजस्तै भएको छ । पूर्वप्रधानमन्त्री भइसकेका तीन नेता एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्षकुमार माधव नेपालबीच घोचपेच र आरोपप्रत्यारोपको जुहारी चल्यो ।
काठमाडौंमा एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल देश बनाउन नभई एमाले बिगार्न देशभर कुदेको टिप्पणी गर्नुभयो । उहाँले अध्यक्ष नेपाललाई दौडधूपमा लाग्न छाडेर घरमा आराम गर्न सुझाव दिनुभयो ।
राणा शासन, राजतन्त्र र कांग्रेसलाई सिध्याएर एमाले उदाएको भन्दै अध्यक्ष ओलीले बुढेसकालमा चुप लागेर घर नबसी नेपाल जथाभावी बोल्दै हिँडेको टिप्पणी गर्नुभयो । उहाँले सभामुख अग्नि सापकोटालाई संसदीय राजनीतिको कलंक भन्दै पदीय गरिमा बिर्सिएर पार्टीको पक्षमा काम गरेको आरोप लगाउनुभयो । आगामी चुनावमा माओवादी नराम्ररी हार्ने अध्यक्ष ओलीको ठोकुवा थियो ।
अध्यक्ष ओलीले महाधिवेशन गर्न नसक्ने गरी नेपाली कांग्रेस बुढो भएको बताउनुभयो । महाधिवेशन गर्न नसक्ने कांग्रेसले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने उहाँको जिकिर थियो । उहाँले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लगाएको आरोपको पनि खण्डन गर्नुभयो ।
शुक्रबार चितवनमा बोल्दै प्रचण्डले ओली प्रधानमन्त्री हुँदा करोडौंको भाँडाकुँडा किनेको आरोप लगाउनुभएको थियो । थोरै भात र एउटा रोटी खाएर बस्ने आफूलाई करोडौंको भाँडाकुँडा किन चाहियो भन्दै उहाँले प्रश्न गर्नुभयो ।
उता, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूले नै आँट गरेर घोडामा सवार वादशाहलाई भुईँमा पछारेको बताउनुभयो । अब आउने चुनावमा नेकपा एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउनेसमेत उहाँको दाबी छ ।
विराटनगरमा भएको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दुई तिहाईको सत्ताको मात लागेका केपी ओलीलाई आफूहरूले आँट गरेर भुईँमा पछारिदिएको जिकिर गर्नुभयो । ओली भुईँमा पुगेको र आफ्नो पार्टी सत्तामा पुगेको उहाँको भनाइ थियो । एमाले आफ्नै पार्टी भए पनि त्यहाँ नौ रेक्टरको भुँइचालो आएर घरको जग हल्लिन थालेपछि आफूहरुले विद्रोह गरेर नयाँ पार्टी जम्माएको अध्यक्ष नेपालले बताउनुभयो ।
त्यसैगरी माओवादी केन्द्रका अध्यक्ष दाहालले ओलीले संविधान र संघीयतामाथि धावा बोलेको र जनतालाई धोका दिएको भन्दै उहाँले संघीयताविरोधी र संविधान मिचाहको संज्ञा दिनुभयो । ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रको बजेट घटाएर शिक्षा क्षेत्रमा काम गर्ने प्राध्यापक, कर्मचारी र शिक्षकलाई हत्होत्साही बनाएको आरोप लगाउनुभयो ।
अध्यक्ष दाहालले मधेशी जनताले सक्कली मधेशवादी र नक्कली मधेशवादी चिनेर आगामी निर्वाचनमा देखाइदिनुपर्ने बताउनुभयो । आफूले जहिल्यै पनि समावेशी र समानताको विषयलाई महत्व दिएको स्मरण गर्दै उहाँले दलितलाई फेरि पनि प्रदेश प्रमुख बनाउने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्