
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा वैदेशिक लगानी भित्र्याउन गैरआवासीय नेपाली संघ(एनआरएनए)लाई आग्रह गर्नुभएको छ ।
गैर आवासीय संघ बेलायतले शनिबार लन्डनमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लगानी भित्र्याउन सरकारले सुविधा दिने बताउनुभयो । नेपालमा खोप ल्याउन एनआरएनले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले नेपाल चाँडै कोभिड–१९ मुक्त मुलुक हुने उल्लेख गर्नुभयो ।
आफूले बेलायती सांसदहरूसँग भेटेर नेपालको तर्फबाट कुराहरू राख्ने प्रधानमन्त्री देउवाको भनाइ थियो । एनआरएनए बेलायतले उक्त अवसरमा प्रधानमन्त्री देउवालाई विभिन्न माग राख्दै ज्ञापन पत्र समेत पेश गरेको थियो ।
संघले दोहोरो नागरिकताको व्यवस्था, गोर्खा मुद्दाको स्थायी समाधान, नेपाल र बेलायतबीच सीधा हवाइ उडान, विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था, वैदेशिक लगानीमैत्री वातावरण बनाउन माग गरेको छ ।
एनआरएन नेता तथा आगामी चुनावमा अध्यक्षका प्रत्यासी कूल आचार्यले प्रधानमन्त्रीलाई एनआरएनए मागबारे ध्यानाकर्षण गराउनुभएको थियो । एनआरएनए नेताहरूले प्रधानमन्त्रीलाई दुई मुलुकको समस्याको रूपमा रहेको ब्रिटिस गोर्खाहरूको मुद्दालाई सम्बोधन गर्न बेलायत सरकारसमक्ष पहल गर्न आग्रह गरेका थिए ।
प्रधानमन्त्री देउवाले नोभेम्बर १ र २ मा स्कटल्यान्डमा हुने कोप–२६ सम्मेलनमा भाग लिने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्