१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओली सरकारले गफ मात्र छाँटेर समय बितायो– मन्त्री कार्की

‘प्रदेश १ नेकपा एसको नेतृत्वमा सरकार बन्छ, पार्टी निर्णय अक्षरस पालना गर्नुस्’

0
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गफ मात्र छाँटेर समय व्यतित गरेको आरोप लगाउनुभएको छ ।

सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री कार्कीले विगतको सरकारले के गर्यो र गरेन भन्दा पनि वर्तमान सरकारले के गर्दैछ भन्ने कुरा महत्वपूर्ण हुने बताउनुभयो ।

ओली सरकारले साँढे तीन वर्ष गफमा बिताएको बताउनुभएका कार्कीले कांग्रेसको सरकार मुलुकको समृद्धि र विकास केन्द्रीत रहेको जिकिर गर्नुभयो ।

शनिबार सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले केन्द्रमा बनेको गठबन्धनको सहमति बमोजिम वर्तमान सरकार अघि बढेको बताउनुभयो ।

यसैबीच मन्त्री कार्कीले प्रदेश १ का आफ्ना पार्टी नेपाली कांग्रेसका प्रदेश सांसदहरूलाई पार्टी निर्णय विपरीत नजान निर्देशन दिनुभएको छ । उहाँले प्रदेश सभामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई पार्टी निर्णयको अक्षरस पालना गर्न निर्देशन दिनुभएको हो ।

मन्त्री कार्कीले प्रदेश एक सरकारको प्रतिनिधित्वको विषयलाई लिएर केहि कांग्रेस नेता तथा कार्यकर्ता ट्रयाक बाहिर जान खोजेको बुझिन आएको भन्दै त्यसो गरिए पार्टी हित विपरीत ठहरिने बताउनुभएको छ ।

प्रदेश १ को सरकार नेकपा एसको नेतृत्वमा बन्ने स्मरण गराउँदै मन्त्री कार्कीले गठबन्धनको निर्णय बमोजिम मुख्यमन्त्री चयन हुने बताउनुभयो ।

कार्कीले नेपाली कांग्रेस गठबन्धनको निर्णय बमोजिम अघि बढ्ने भएकाले केहि दिनभित्रै प्रदेश १ मा राजेन्द्र राईको नेतृत्वमै सरकार बन्ने बताउनुभयो ।