
काठमाडौं । प्रदेश १ मुख्यमन्त्री भीम आचार्यले राजीनामा घोषणा गर्नुभएको छ ।
सोमबार बसेका प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले आफ्नो पार्टीको अंकगणित मेल नखाएको भन्दै राजीनामा घोषणा गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘हामी संविधानको धारा १६८ को उपधारा १ अन्तर्गतको अवस्थामा नरहेको हुनाले आजै मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गर्दछु ।’
सोमबार मुख्यमन्त्रीले पेश गर्नुभएको विश्वासको मत लिने प्रक्रियामा मतदान हुँदै थियो ।
१० भदौमा मुख्यमन्त्री बनेका आचार्य २५ गते नै अल्पमतमा पर्नुभएकाे थिए । एमालेका १० सांसदले एकीकृत नेकपा समाजवादी रोजेसँगै अल्पमतमा परेका आचार्यले संविधानअनुसार ३० दिने विश्वासको मत लिने प्रस्ताव पेश गर्नुभएकाे थियाे ।
प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी आचार्यविरुद्ध उभिएका छन् । विपक्षी गठबन्धनले एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ ।
९२ सदस्यीय प्रदेशसभामा एमालेसँग सभामुखसहित ४१ सांसद छन् । त्यस्तै कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, ,जनता समाजवादीका ३ जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् । एक सिट रहेको राप्रपा मौन छ ।
प्रतिक्रिया दिनुहोस्