
चितवन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमतका साथ सिंहदरबार प्रवेश गर्ने दाबी गर्नुभएको छ ।
भरतपुर महानगर कमिटीको प्रथम अधिवेशनको उद्घाटन गर्दे पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले परमादेशबाट नभई जनताको भारी बहुमतका साथ विजयी भएर सरकार सञ्चालन गर्ने बताउनुभएको हो ।
स्थानीय तहको निर्वाचन घोषणा गर्नुपर्ने समय आइसकेको भन्दै अब हुने तीन प्रकारका निर्वाचनमा देशभर एमालेलाई जिताउने गरी लाग्न नेता तथा कार्यकर्तालाई ओलीले निर्देशन दिनुभयो ।
एमाले महाधिवेशन पनि चुनावको एक प्रचारकै रूपमा बुझ्न आग्रह गर्दै चितवनमा सबैतिर एमालेले चुनाव जित्ने दावी गर्नुभयो । विगतमा जस्तो मतपत्र च्यातेर जित्ने अवस्था अब नरहेको भन्दै त्यस्तो अवस्था आउन सक्नेतर्फ युवाहरूलाई सचेत रहन निर्देशन दिनुभयो ।
जनताको बहुदलीय जनवादको बाटो भएरमात्रै समाजवादको यात्रामा हिँड्न सकिने भन्दै ओलीले अहिलेको गठबन्धन त्यही यात्रालाई भत्काउन एक भएको आरोप लगाउनुभयो । उहाँले गठबन्धन धेरै दिन नटिक्ने पनि दाबी गर्नुभयो ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई अध्यक्ष ओलीले वामपन्थी एकता भत्काउनेको नाम एकीकृत भन्दै व्यङ्ग्य गर्नुभयो । उहाँले भन्नुभयाे, ‘जसले वामपन्थीको एकता भत्काए, उनीहरूकै नाम एकीकृत रे !’
कार्यक्रममा बोल्दै अर्का नेता रामबहादुर थापा बादलले अबको महाधिवेशनले पार्टीलाई थप एकीकृत गर्दै सुदृढीकरण तर्फ लग्न मद्दत पुग्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्