
काठमाडौं । बन्दी प्रत्यक्षीकरणको मुद्दा सुनुवाइ गर्ने भनेर ६ वटा इजलासमा बसेका सर्वोच्च अदालतका न्यायाधीशहरू मंगलबार कुनै पनि इजलासमा बसेनन् ।
सोमबार प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका न्यायाधीश र प्रधानन्यायाधीशबीच बन्दीका मुद्दा सुनुवाइ गर्ने सहमति बनेको थियो ।
प्रधानन्यायाधीशले आफूलाई मुद्दा नतोक्ने र बन्दी बाहेकका मुद्दाको पेसी नराख्ने सहमति भएपछि सोमबार न्यायाधीशहरूले बन्दीका निवेदनमा सुनुवाइ गरेका थिए । तर, मंगलबार भने उनीहरु कुनै पनि मुद्दाको सुनुवाइमा उपस्थित भएनन् ।
आन्तरिक छलफल र प्रधानन्यायाधीशको अडानका कारण इजलासमा नजाने निर्णय भएको एक न्यायाधीशले जानकारी दिनुभयो ।
‘हामीहरूबीच पुनः छलफल भयो,’ उहाँले भन्नुभयो, ‘प्रधानन्यायाधीशले राजीनामा दिने पक्का नभएसम्म इजलासमा नजाने निर्णय भएपछि इजलासमा नगएका हौं ।’
मंगलबार जबराले आफूबाहेक ६ वटा इजलास गठन गर्दै १० वटा बन्दीका रिट सुनुवाइका लागि पेशी तोक्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्