
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिनुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विभाग प्रमुख भट्टराईले नेकपा (एकीकृत समाजवादी)लाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिनुभएको हो ।
चितवनमा हुने पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलहरुहरूलाई मात्र बोलाउने बताउँदै भट्टराईले अवैध सम्बन्ध र गर्भाधारणबाट जन्मिएको एकीकृत समाजवादी पार्टीलाई बोलाइरहनु नपर्ने बताउनुभयो ।
नेकपा (एकीकृत समाजवादी) पार्टीकाे पहिचान र ठेगाना नभएको उहाँको टिप्पणी छ ।
प्रचार विभाग प्रमुख भट्टराईले गठबन्धन सरकारका कारण मुलुकमा संविधान मिचिएको र संवैधानिक अंगहरूमाथि हस्तक्षेप भएको बताउनुभयो ।
भट्टराईले गठबन्धन सरकारले संवैधानिक अंगहरूमा स्वेच्छाचारिताको गम्भीर प्रश्न उठेको बताउँदै शक्तिहरूको स्वार्थमा देशमा राजनीतिक अस्थिरता पैदा गरेको आरोप लगाउनुभयो ।
प्रचार विभाग प्रमुख भट्टराईले १०औं राष्ट्रिय महाधिवेशन ऐतिहासिक र भव्य हुने बताउँदै महाधिवेशनमा विधान महाधिवेशन भएको दुई महिनामा भएका ठूला राजनीतिक घटनाहरूको बारेमा पनि पार्टीले स्पष्ट धारणा राख्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्