१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डडेल्धुरा, बैतडी र बझाङलाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने गृहमन्त्रीको भनाइ


0
Shares

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणले बाढिपहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको सुदूरपश्चिमका डडेल्धुरा, बैतडी र बझाङलाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने बताउनुभएको छ ।

बुधबार हेलिकप्टरमार्फत् ती जिल्लाहरूको बाढिपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेपछि उहाँले बझाङमा आयोजित एक कार्यक्रममा विपदग्रस्त क्षेत्र घोषणा गर्ने बताउनुभएको हो ।

कार्यवाहक प्रधानमन्त्री खाँणले बाढिपहिरो प्रभावित पूर्वी पहाडी जिल्लाहरू इलाम, पाँचथरलगायतका प्रभावित जिल्लालाई पनि विपदग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

खाँणले पीडितहरूलाई राहत दिने, घाइतेहरूको उपचारको व्यवस्था गर्ने र हराइरहेकाहरूको खोजी गर्ने कार्यलाई सरकारले निरन्तर रूपमा अघि बढाइरहेको पनि स्मरण गराउनुभयो ।

सरकारले बाढिपहिरोमा परी मृतक भएकाहरूलाई १ लाख, हराइरहेकाका परिवारलाई २ लाख र घाइतेहरूको उपचारको व्यवस्था सरकारले गरिरहेको उहाँले बताउनुभयो ।

कार्यवाहक प्रधानमन्त्री खाँणले बाढिपहिरोले भत्काएको सडक, सिँचाइलगायतका पूर्वाधार निर्माणको कामलाई पनि तत्काल अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले पहाडी जिल्लाहरूको भौगर्भिक अवस्थाको अध्ययन गरेर विपद आउन नदिने खालको कार्यक्रमहरू ल्याउन सरकार लागिपर्ने पनि बताउनुभयो ।