
भरत शर्मा
पाल्पा । पाल्पाको सत्यवती ताल पर्यटकीय गन्तव्य बन्दै गएको छ । ऐतिहासिक, धार्मिक तथा जैविक विविधताले भरिएको सत्यवती ताल लुम्विनी प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा रहेकाले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार तालको विविधता संरक्षणमा जुटेका छन् ।
पाल्पाको ऐतिहासिक, धार्मिक तथा जैविक विविधताले भरिएको सत्यवती ताल लुम्विनी प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा रहेकोले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार यसको संरक्षणमा जुटेका छन् ।
एक हजार चार सय मिटर उचाईमा रहेको सत्यवती तालको स्तरउन्नतीको काम भइरहेको छ । तिनाउ गाउँपालिका– ४ मा रहेको तालको एतिहासिक तथा पुरातात्विक महत्वलाई जोडेर ताल तथा मन्दिरको गुरुयोजना निर्माण गरी संरक्षणको काम भइरहेको छ । ताल क्षेत्रबाट तराई, पहाड र हिमालका दृश्यहरु देखिने भएकोले धर्मका साथै जैविक विविधताको अवलोकन गर्न वार्षिक ३ देखि ४ लाखसम्म पर्यटकहरु यहाँ पुग्ने गरेकाे तिनाउँ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तिमगरले बताउनुभयाे ।
तालको सरसफाई, ताल वरपरी घुम्ने फराकिलो बाटो, रेलिङ, बाढी पहिरो रोक्न रिटेनिङवाल लगायतका पुर्वाधारको काम गरिएको छ । संघिय सरकार, लुम्बिनी प्रदेश सरकार र स्थानीय सरकारले करीव १ करोड रुपैयाँमा तालसंगै मन्दिर परिसरको पूर्वाधारहरू निर्माण गरिरहेको हो । स्वच्छ र सुन्दर वातावरण भएका कारण यहाँ सबै धर्मका पर्यटकहरु आउने गरेकाे तिनाउ गाउँपालिका–४ का वडा अध्यक्ष दान बहादुर गाँहा बताउँनुहुन्छ ।
तालको पश्चिम तर्फ सत्यवती बाजे बजैंको आर्कषण मन्दिर रहेको छ । मन्दिरमा पुर्णिमा, पञ्चमी तिथिमा बढी भीड हुने गर्दछ । मुख्यतया सन्तान नहुने दम्पत्तीहरु सत्यवती बजैको दर्शन गर्न आउने र सन्तान प्राप्त हुने जनविश्वास रहेको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल चर्तुदशी र पूर्णिमामा लाखौ भक्तजनहरु सत्यवती बजैको दर्शन गर्न पुग्ने गर्दछन । सत्यवती बज्यैले कानले नसुन्ने भएकाले चिच्चाएर वर माग्ने चलन रहेकाे सत्यवती मन्दिरका पुजारी सुनवीर गाँहाकाे भनाइ छ ।
सत्यवती मन्दिरमा मेला पर्वहरुमा मात्र हुने पुजाआजा अहिले दैनिक रुपमा हुँदै आएको छ । पर्यटकका लागि गाउँमा होमस्टे संचालन भएका छन् भने सत्यवती ताल तथा मन्दिरमा जाने भक्तजनका लागि सत्यवती केवलकार दर्शन प्रा.लिले सिद्धार्थ राजमार्गको चौबीस माइलदेखि सत्यवतीसम्म केवलकार सञ्चालनमा ल्याउन जुटेको छ ।
प्रतिक्रिया दिनुहोस्