१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तिहार रौनक : न्यूरोड र असनमा भाइ मसला किन्नेको भीड, रेडिमेड प्याकेटमा उपभोक्ताको आकर्षण


0
Shares

काठमाडौं । राजधानीको व्यस्त शहर न्यूरोड, असन लगायतका बजारमा भाइ मसला किन्नेहरूको चहलपहल बढेको छ ।

भाइटिकाको दिन चेलिबेटीले आफ्ना दाजुभाइलाई भाइमसला दिने गर्दछन् । दाजुभाइलाई सप्तरंगी टिका र माला लगाएपछि चेलिबेटीले भाइमसला लगायतका मिठा–मिठा परिकार दिने प्रचलन रहेको छ ।

भाइ मसलामा नरिवल, मिश्री, काजु, किसमिस, ओखर, देशी बदाम, सुकुमेल, पेस्ता, ल्वाङ, मख्खना, छोकडा, सुपारी, मरिच लगायत राख्ने गरिन्छ । यी मसलाहरु किनमेल गर्न सुरु भइसकेका छन् ।

भाइ मसला केवल मसला व्यापारीले मात्रै होइन, किराना पसलेहरूले पनि विक्री गरिरहेका छन् । त्यसो त तिहार केन्द्रित मात्रै मसला पसल सञ्चालन गरेर सडक पेटीहरूबाट पनि धमाधम भाइ मसला विक्री भइरहेको छ ।

काठमाडौंको न्यूरोड, असन लगायतका सडक पेटीहरूमा भाइ मसला किन्नेको भीड लागेको देख्न सकिन्छ । समग्रमा विगत दुई दिन यता भाइ मसला किन्नेहरूको भीड बढे पनि असनमा भने अघिल्लो वर्षको तुलनामा व्यापार कम नै भएको मसला व्यापारी सजिव बज्राचार्य बताउनुहुन्छ ।

भाइ मसला प्रायः विदेशबाट आउने र नेपाली उत्पादन कम नै हुने उहाँ बताउनुहुन्छ । भाइ मसला पनि विभिन्न गुणस्तरको आउने उल्लेख गर्दै उहाँले स्वस्थ मसला किन्न व्यापारी बज्राचार्यको सुझाव छ ।

सडक पेटीहरूमा सानादेखि, ठूलासम्मका प्याकेट बनाएर बेचविखन भइरहेको पनि देख्न सकिन्छ । हरेक सामान किन्न हरेक पसल पुग्नुपर्ने झन्झटबाट मुक्त हुन उपभोक्ताहरू सबै सामग्री मिसिएको रेडिमेड प्याकेटमै आकर्षित भएका छन् ।