
काठमाडौं । कात्तिकको पहिलो हप्ता भएको बेमौसमी वर्षाका कारण रौतहटमा काटेर भित्र्याउन ठिक्क पारिएको धानबाली नष्ट भएको छ ।
अविरल वर्षाका कारण जिल्लाका विभिन्न भागमा भित्र्याउन लागिएको धानबाली नष्ट भएको हो । काटेर भित्र्याउन लागिएको धानबाली डुबानमा परेका छन् भने नकाटेको धानबालीमा समेत क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र रौतहटले काटेर राखिएको अनुमानित १ हजार १ सय ३० हेक्टर जमिनको धान नष्ट भएको बताएको छ ।
त्यस्तै, १ हजार २ हेक्टर जमिनमा लगाएको धान हावाहुरी र पानीको कारण उत्पादन लिन नसकिने गरी क्षति भएको छ । केन्द्रका अनुसार बाला लाग्ने बेला भएको ८ सय २५ हेक्टर जमिनमा लगाएको धान पूर्ण रूपमा नोक्सान भएको छ ।
जिल्लामा यसपाली ३५ हजार ५ सय ३५ हेक्टर जमिनमा धान खेती गरिएकोमा कुल ८ दशमलव १८ प्रतिशत जमिनमा लगाइएको धानमा नोक्सानी पुगेको कृषि ज्ञान केन्द्र रौतहटको तथ्याङ्क छ । पीडित किसानहरूले आफूहरूले लगाएको सम्पूर्ण धानबाली नष्ट भएकोमा दुःखेसो गर्दै सरकारसँग क्षतिपूर्ति माग गरेका छन् ।
केहीदिन अघिदेखिको अविरल वर्षाका कारण नेपालको तराई तथा पहाडी भू–भागमा भित्र्याउन तयारी अवस्थामा रहेका धानबाली नष्ट भएका छन् । सरकारले किसानलाई राहत दिने घोषणा गरेको भए पनि हालसम्म किसानले कुनै पनि राहत नपाएको किसानहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्